खसी, बोका, भेंडा, च्याङ्ग्रा : रातो हैन हरिया-Sutra News

खसी, बोका, भेंडा, च्याङ्ग्रा : रातो हैन हरिया

आइतबार, २ कार्तिक २०७७

आइतबार, २ कार्तिक २०७७

काठमाडौं–दसैंका लागि काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ। दसैंका लागि काठमाडौं ल्याइएका निरोग खसी-बोका तथा भेंडा-च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ।



कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दसैंका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो आए/नआएको, नाकबाट सिँगान बगे/नबगेको, झोक्राएको/नझोक्राएको, पातलो दिसा भए/नभएको, चोटपटक भए/नभएको जस्ता सामान्य स्वास्थ्यावस्थाका विषयमा पशु चिकित्सकले परीक्षण गरेपछि सिङमा रङ लगाउन थालेको छ।

ती चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट शनिबारदेखि महाष्टमीसम्म तीन टोली परिचालन भएका छन्। माछामासुजन्य खाद्यवस्तु तथा दूध र दुग्धजन्य खाद्यवस्तुको नमूना संकलन गर्ने र प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेरिनेछ।

चौपाया खरीदबिक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार काठमाडौंमा ६० हजार खसीबोकाको माग भयो भने पूरा गराउन सकिन्छ। चौपाया ल्याउन सकिने अवस्था छ। ल्याएर बिक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन। काठमाडौंँको ठूलो खसी बजार भनेको कलंकी हो। बन्दाबन्दीपूर्व सो बजारमा कक्ष लिएर व्यापार गर्ने २९ व्यापारी थिए। कोरोनाका कारण तीमध्ये १६ व्यवसायीले व्यापार छाडे।

महानगरका कलंकी र टुकुचामा खसी बजार छ। यसै गरी दसैंका बेला काठमाडौंका आकाशेधारा, कपन, चाल्नाखेल र चन्द्रागिरि, भक्तपुरका लोकन्थली र सल्लाघारी तथा ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ।

स्वच्छ मासुका लागि काठमाडौं भित्रिने नाका नागढुंगा, दक्षिणकाली, बालाजु र साँगामा चौपायामाथि निगरानी बढाउने गरिन्छ। काठमाडौं ल्याइने च्याङ्ग्राहरुको संकलन मुस्ताङको कोरला नाकामा हुने भएकाले सो क्षेत्रमा पनि विशेष निगरानी बढाउने गरिन्छ। काठमाडौं चौपाया खरीदबिक्री प्रालिले यसपटक दसैंमा करीब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ।

मुस्ताङबाट च्याङ्ग्रा नल्याइने
दसैंमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ। मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य पर्ने भएपछि च्याङ्ग्रा नल्याउने निर्णय गरेको हो।

बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दसैंमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको थियो। यस वर्ष खसीबोका मात्र बिक्री गरिने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए।

‘बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउनु उचित ठान्यौँ,’ उनले भने। कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बतबाट च्याङग्रा मुस्ताङ ल्याउन नसकिएको न्यौपानेको भनाइ छ।

कम्पनीले दाङ र मकवानपुरबाट खसीबोका ल्याएको छ। दुवै स्थानबाट ल्याइएका खसीबोका सोमबार बिहान ८ बजेदेखि थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्री वितरण गरिने कम्पनीले जनाएको छ। मूल्य निर्धारण भने गरिएको छैन। सबै खसीबोका ल्याएपछि मूल्य निर्धारण गरिनेछ। गत वर्षको तुलनामा यस वर्ष खसीबोकाको मूल्य बढ्ने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट