ओली-प्रचण्ड संवादहीनताको पाँचौं दिन, अन्योलता कायमै-Sutra News

ओली-प्रचण्ड संवादहीनताको पाँचौं दिन, अन्योलता कायमै

आइतबार, २ कार्तिक २०७७

आइतबार, २ कार्तिक २०७७

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता पाँच दिनदेखि ठप्प छ। प्रधानमन्त्री ओलीले पार्टीमा कुनै पनि छलफल नगरी २८ असोजमा मन्त्रिपरिषद् पुनर्गठन गरेपछि ओली–प्रचण्डबीच संवाद रोकिएको हो।



एकलौटी रुपमा भएको मन्त्रिपरिषद् पुनर्गठनप्रति प्रचण्ड असन्तुष्ट छन्। प्रचण्ड निकट एक नेताका अनुसार प्रचण्ड केही नेतालाई परिवर्तन गर्न चाहन्थे।

त्यसो नभए पनि कम्तिमा गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, बन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायका केही नेता आफ्नो समूहबाट परिवर्तन चाहन्थे र जनार्दन शर्मा, पम्फा भुसाल लगायतलाई सरकारमा सहभागी गराउन चाहन्थे। तर, त्यसमा ओली सहमत भएनन्।

दुई अध्यक्षबीच देखिएको बढेको दूरीले पार्टी एकताका बाँकी काम टुंग्याउँदै महाधिवेशनसम्म पुग्ने कार्यतालिका पनि प्रभावित हुने सम्भावना बढेको एक नेताले बताए।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा प्रधानमन्त्री ओलीले आफू निकट विष्णु पौडेललाई अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास तथा तथा लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीमा नियुक्त गरेका थिए।

सरकारमै रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाएर जिम्मेवारी हेरफेर गरेका थिए।

गत भदौ २६ को स्थायी कमिटी बैठकले ठूलो मात्रामा मन्त्रिपरिषद् पुनर्गठन गर्ने, नयाँ पुराना सबैलाई समेटेर पुनर्गठन गर्ने र पुनर्गठन गर्दा क्षेत्रीय, जातीय, सामाजिक र लैंगिक सन्तुलनलाई मिलाएर गर्ने निर्णय गरेको थियो।

यो पाँच दिनमा ओली र प्रचण्ड शनिबार एकपटक टेलिफोन वार्ता भएको छ। त्यो पनि कर्णालीको विवाद टुंग्याउन भन्दै ओलीले प्रचण्डलाई टेलिफोन गरेका थिए। तर, प्रचण्डले आफूले छुट्टै कुरा गरिसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार नआउने जानकारी दिएर अनुपस्थित भए।

केही महिनाअघि पार्टी विभाजन नजिक पुगेर सहमति कायम भएको नेकपाले आगामी चैत अन्तिम साता एकताको महाधिवेशन गर्नेगरी पार्टी गतिविधि बढाउने निर्णय गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट