वडाध्यक्षमा हारेका नीलकण्ठ, जो राजनीतिसँगै बाख्रापालन गरिरहेका छन्-Sutra News

वडाध्यक्षमा हारेका नीलकण्ठ, जो राजनीतिसँगै बाख्रापालन गरिरहेका छन्

सोमबार, ३ कार्तिक २०७७

सोमबार, ३ कार्तिक २०७७

चितवन– केन्द्रमा राजनीति गर्ने पूर्णकालीन हुने भए पनि स्थानीयस्तरका नेता कार्यकर्ताको आफ्नो पेशा नहुँदा टिक्न कठिन हुन्छ। पारिवारिक व्यवस्थापनसँगै राजनीति उनीहरुको बाध्यता हुने गर्दछ। राजनीति गरेरै भएभरको सम्पत्ति सक्नेहरु कथापनि पनि हामीले नसुनेका होइनौँ ।



त्यसैले होला, पछिल्लो समय धेरैतिर स्थानीय नेताहरु राजनीतिसँगै आम्दानीका लागि सहायक पेशामा आबद्ध हुन थालेका खबरहरु आउन थालेका छन् । नीलकण्ठ काफ्ले त्यस्तै एक उदाहरण हुन्, जो गएको स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजय भोगेपछि यतिबेला राजनीतिसँगै बाख्रापालनमा लागेका छन् ।

माडी नगरपालिका–७ का काफ्लेले सोही वडामा पराजय बेहोरेपछि व्यावसायिक बाख्रापालनमा लागेका हुन् । ५७ वर्षीय काफ्ले अहिले माडी एग्रोफार्ममार्फत बोयर जातका बाख्रा पालेर पाठापाठी बिक्री वितरण गर्दै आइरहेका छन् ।

स्थानीय तहको निर्वाचनमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका काफ्ले अहिले आफ्नै व्यवसायमा रमाइरहेका छन् । उनले गएको एक वर्षमा १० लाख रुपैयाँभन्दा बढीको बोयर जातका पाठापाठी बिक्री गरेको बताउँछन्।

उनले भारतको तामिलनाडु पुगेर शुद्ध बोयरको पाठा ल्याएर व्यवसाय सुरु गरेका हुन्। आफ्नो चाहना पूरा गर्नका लागि उनले ५४ हजारमा १७ किलोको तीन महिने पाठो ल्याएर हुर्काउन थालेका थिए। तर, छ महिनामै खोरभित्रका अन्य बाख्रा मर्न थाले । ‘५५ बाख्रामध्ये १५ वटामात्रै बाँचे,’ उनले भने ।

बाख्राका पाठा मर्न थालेपछि बाख्रापालन नै छाड्ने स्थितिमा पुगेका काफ्ले तैपनि हार खाएनन्। बिरामी परेको बोयरको पाठो पछि तंग्रिन थाल्यो । ‘अर्को वर्ष खोरमा ५० बाख्रा पुगे, त्यही बोयरमार्फत उन्नत जातका पाठापाठी थाले । अनि खोर भरिन थाल्यो,’ उनी विगत सुनाउँछन्।

उनले ०७५ सालमामात्रै १२ लाख बराबरका बोयरका पाठा बेचे। गत वर्ष करिब १० लाख बराबरको बेचे। ०७६ को असारमा उनले अष्ट्रेलियाबाट २४ वटा बोयरका पाठी र छ वटा पाठा किनेर ल्याए। अहिले फार्ममा ६० वटा बाख्रा छन्। जसमध्ये ४० वटा माउ छन्। शुरुमा एक लाख रुपैयाँको बाख्रा किनेर फार्म दर्ता गराएका काफ्लेले हालसम्म फार्ममा करिब एक करोड लगानी गरिसकेका छन्। ‘यो वर्ष २० लाखका बोयरका पाठापाठी बेच्ने लक्ष्य छ,’ उनी भन्छन्, ‘बोयर उन्नत जातको बाख्रा हो, यसबाट उत्पादन लिन सजिलो हुने रहेछ।’

छिटो हुर्कने, तौल बढ्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले बोयर जातका बाख्राको माग बढ्दो छ। शुद्ध बोयर पाठा एक लाख ५० हजारदेखि दुई लाख रुपैयाँसम्म बिक्री हुन्छ भने पाठी एक लाख ८० हजारसम्म बिक्री हुने गर्छ । दुई वर्षमा बोयरका बोका १०० किलो बढी तौलका हुन्छन् । शुद्ध बोयर बोका र स्थानीय बाख्राबीच क्रस गराएर जन्मने पाठापाठी चार महिनामा ४० किलो बढी तौलका हुन्छन् । अर्खाखाँची, स्याङ्जा, बुटवल, धनकुटा, पोखरासम्मबाट बोयरका पाठापाठी लिन आउने गरेको उनले बताए ।

व्यावसायिकरुपमै अघि बढ्ने सोचका साथ उनले केही स्थानीयलाई लिएर धादिङ, गोरखा, तनहुँ, पोखरासम्म पुगेर उत्कृष्ट गाई, बाख्रा फार्म अवलोकन गरे । उनका तीन छोरामध्ये जेठो छोरा खगेन्द्र मनोरोग विशेषज्ञ छन् भने माइलो छोरा हरि इञ्जिनीयर छन् । कान्छो छोरा हिम भारतमा विद्यावारिधि गर्दै छन् । छोरासँगै नभए पनि श्रीमतीको प्रत्यक्ष साथ छ उहाँलाई ।

बाख्रा उत्पादनमा नश्ल सुधार अतिआवश्यक रहेको उनी बताउँछन् । यस फार्मलाई नमूना स्रोत केन्द्रका रुपमा विकास गर्ने उनको योजना रहेको छ । फार्ममा शुद्ध बोयर, बोयरका ५० प्रतिशत क्रस, ७५ प्रतिशत क्रस गरेका पाठापाठी उत्पादन हँुदै आएको छ । फार्मबाट अहिले पाठापाठी मात्रै बेच्ने गरिन्छ ।

बाख्रापालनका लागि चार बिघा जमिनको व्यवस्था गरिएको छ । जसमध्ये दुई बिघामा अहिले घाँसखेती छ । उनी बाख्रापालनबाट भविष्य राम्रो भएको भन्दै उनले सीप र लगानी गरेर निरन्तरता दिएमा व्यवसायमा सफल बन्न सकिने बताउँछन् । ‘मिहिनेत ग¥यो भने विदेश जानुपर्दैन । स्थानीयस्तरमा राजनीति पनि छोडनु पर्दैन,’ उनी अरुलाई पनि यस्तै सुझाउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट