बर्दिवास अस्पतालमा एक हजार पिसीआर परीक्षण-Sutra News

बर्दिवास अस्पतालमा एक हजार पिसीआर परीक्षण

मंगलबार, ४ कार्तिक २०७७

मंगलबार, ४ कार्तिक २०७७

काठमाडौं- महोत्तरीको बर्दिवास अस्पतालले एकहजारभन्दा बढीको पिसीआर परीक्षण गरेको छ। गत भदौ १२ गतेदेखि पिसीआर परीक्षण सेवा सुरु गरिएको अस्पतालले असोज मसान्तसम्ममा एक हजार ४५ जनाको पिसीआर परीक्षण गरिएको जनाएको हो।



अस्पतालले भदौ महिनामा गरिएको ३ सय ८६ जनाको पिसीआर परीक्षणमा २५ महिला र २२ पुरुष गरी कूल ४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पलालका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक रामबाबु यादवले जानकारी दिए। यसैगरी गत असोजमा गरिएको ६ सय ५९ जनाको पिसीआर परीक्षणमा ९२ पुरुष र ५२ महिला गरी कूल १ सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

गत असार २६ गते उद्घाटन भएको नवनिर्मित बर्दिवास अस्पताल भवनमा बर्दिवास नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिँदै जाँदा परीक्षण ब्यापक बनाउने उद्देश्यले आवश्यक उपकरण र दक्ष जनशक्ति व्यवस्थापन गरी पिसीआर परीक्षण सुरु गराएको हो।

नगरपालिकाले करिब रु एक करोड २५ लाख खर्च गरेर पिसीआर मेसिन र आवश्यक उपकरण अस्पताललाई उपलब्ध गराएको बताइएको छ। सेवालाई थप विस्तार गर्दै छिमेकका स्थानीय तहका बासिन्दाको समेत परीक्षण गर्न सम्बन्धित स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि समन्वय भइरहेको नगरप्रमुख बिदुरकुमार कार्कीले बताए।

अस्पतालले स्वाब सङ्कलन गरिएको १० घण्टा भित्रनै नतिजा(रिपोर्ट) दिँदै आएको छ। यो व्यवस्थाले यसअघि १०/१२ दिनसम्म रिपोर्टका लागि कुर्नुपर्ने अवस्था हटेको सेवाग्राहीले बताएका छन्। करिब एक लाख २० हजार जनसङ्ख्या रहेको आफ्नो नगरक्षेत्रमा स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच बढाउँदै लाने सङ्कल्पमा यो प्रयत्न महत्वपूर्ण भएको नगरप्रमुख कार्कीको भनाइ छ।

बर्दिवास अस्पतालमा जडान गरिएको पिसीआर मेसिन र उपलब्ध उपकरणबाट दैनिक ९०० नमूनाको परीक्षण हुन सक्ने विज्ञको भनाइ छ। यहाँ जडित उपकरणबाट प्र्रत्येक दुई घण्टामा ९६ जनाको पिसीआर परीक्षण गर्न सक्ने अस्पतालले स्पष्ट पारेको छ।

नेपाल सरकारको रु पाँच करोड ३५ लाख ३६ हजार १ सय ७६ को लागतमा नवनिर्मित बर्दिवास अस्पताल भवनमा अत्याधुनिक सेवासहितको तीन तले भवनमा ८६ कोठा छन्। अस्पतालमा कोभिड–१९ रोकथाम अभियानसँग सम्बन्धित ५० शय्याको आइसोलेसन कक्ष छ। भौतिक साधन स्रोत जुट्दै गए बर्दिवास अस्पताललाई सेवाको क्षेत्रमा अनुकरणीय बनाउने आफ्नो सपना रहेको नगरप्रमुख कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट