काठमाडौं- हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मलको चर्को अभाव भएको छ।
हिउँदे खेतीअन्तर्गत किसानले तोरी छर्ने र तरकारी लगाउने बेलामा आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव भएको हो। उत्पादन बढी लिन बोटबिरुवालाई चाहिने आवश्यक रासायनिक मल हाल्नुपर्ने बेलामा मल नपाएपछि कैलालीका किसान यसका लागि भौतारिन थालेका छन्।
बर्खे धानबालीमा रासायनिक मल हाल्न नपाएर उत्पादनमा ह्रास आएको हुनाले हिउँदे सिजनको बाली राम्रो उत्पादन लिने किसानका सपना मल अभावले अहिले पनि तुहिने सम्भावना बढेको छ। तोरी छर्ने बेलामा आवश्यक रासायनिक मल युरिया र डिएपी नपाउँदा उत्पादन नहुने हो कि भन्ने चिन्ता बढेको टीकापुर–१ का किसान सीता चौधरीले बताए। ‘मल अभाव छ, खेती गर्ने बेलामा मल नपाए उत्पादन हुँदैन’, उनले भने, ‘मानिसले वस्तुभाउ पाल्न पनि छाडिसके, वस्तुभाउको मल पनि पाउन सकिँदैन। यस्तो बेला कसरी खेती गर्नु?’
खेतीपाती गर्ने बेलामा रासायनिक मल अभाव झेलेको किसान हिउँदे खेतीका लागि पनि मल अभावमै खेती गर्नुपर्ने परम्परागत बाध्यताजस्तै बनिसकेको छ। हिउँदे बालीअन्तर्गत गरिने खेती र तरकारी बालीका लागि आवश्यक मात्रामा रासायनिक मल नपाउँदा हिउँदे बालीमा समेत उत्पादनमा कमी आउने टीकापुर–२ का रतनसिंह खड्काले बताए। रासस