कर्णाली प्रदेशबारे भएको भनिएको सहमतिप्रति ओली र प्रचण्ड पक्षका विपरित धारणा-Sutra News

कर्णाली प्रदेशबारे भएको भनिएको सहमतिप्रति ओली र प्रचण्ड पक्षका विपरित धारणा

मंगलबार, ४ कार्तिक २०७७

मंगलबार, ४ कार्तिक २०७७

काठमाडौं–कर्णाली प्रदेशको विवाद समाधानका लागि भएको भनिएको सहमति विवादमा परेका छ ।



मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटघाटमा ४ बुँदे सहमति भएको भनिए पनि दुवै पक्षले यसमा विपरित धारणा सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले जारी गरेको प्रेस नोट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने सहमति भएको छ।

त्यस्तै कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने सहमति भएको छ।

तर, प्रचण्ड पक्षले भने त्यसको खण्डन गरेको छ। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने प्रदेशको विवादबारे बालुवाटारमा त्यस्तो कुनै सहमति नभएको बताएका छन्।

सापकोटाका अनुसार ओली र प्रचण्डबीचको छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको थियो।

थापाले मंगलबार जारी गरेको प्रेस नोट

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु –

१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।

२. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।

३. मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने । र,

४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।

यसबारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।

सूर्य थापा, प्रेस सल्लाहकार

४ कात्तिक २०७७

सापकोटाले मंगलबार जारी गरेको प्रेस नोट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।

उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।

बिष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डका निजी सचिवालय

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट