रअ प्रमुखसँग प्रधानमन्त्रीको वार्ता कूटनीतिक मर्यादा विपरीतः भीम रावल-Sutra News

रअ प्रमुखसँग प्रधानमन्त्रीको वार्ता कूटनीतिक मर्यादा विपरीतः भीम रावल

बिहिबार, ६ कार्तिक २०७७

बिहिबार, ६ कार्तिक २०७७

काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेता भीम रावलले भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको वार्ता कूटनीतिक मर्यादा विपरित भएको बताएका छन्। रावलले त्यो भेट नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति भएको समेत बताएका छन्।



‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ,’ रावलले ट्वीटरमा लेखेका छन् ‘कूटनीतिक मर्यादा विपरीत छ।’

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले बुधबार बेलुकाप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेटका क्रममा गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने धारणा राखेका थिए।

गोयलले पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायतसँग भेटवार्ता गरेको बताइएको छ। तर, प्रचण्डको निजी सचिवालयले भने यसको खण्डन गरेको छ। प्रचण्डसँग भेट भएको भनेर आएका खबरहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘संवेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट