दशैँले छोएन बोटे बस्तीलाई-Sutra News

दशैँले छोएन बोटे बस्तीलाई

बिहिबार, ६ कार्तिक २०७७

बिहिबार, ६ कार्तिक २०७७

काठमाडौं । दशैँ भित्रिएको छैटौँ दिन हुँदा समेत माहिन्द्रीगङ्गा (मादीनदी) को किनारमा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपिप्ले बजार नजिकैको बोटेगाउँका बोटेहरुलाई भने दशैँले छुन सकेको छैन ।



विगतमा मजदूरी गरेर जसोतसो वर्षेनी रमाइलो र खुसी साथ दशैँ मनाउँथे उनीहरू । यस वर्ष लकडाउनले काम नपाएपछि आम्दानी छैन । खर्च जुटाउन नसक्दा दशैँका बेला समेत यस बस्तीमा चाडपर्वको रौनक देखिएको छैन ।

घरमा सात जना रहेको बताउने ५२ वर्षीया सीताकुमारी बोटेले वर्षेनी ज्यालामजदूरी गरेर दशैँ मनाउँदै आएपनि यस वर्ष लकडाउनले काम नपाएको दुखेसो गरे ।

‘अरू आम्दानी पनि भएकोले दशैँ कसरी मनाउने भन्ने चिन्ता छ, त्यहीमाथि सासुआमा बिरामी हुनुहन्छ’, उनले भने । त्यस्तै आरती माझीले पनि महामारीका कारण काम नपाउँदा चाडपर्व खल्लो भएको बताए । ‘दशैँ मनाउने भनेर जमरा त राखेको छु, तर पैसा नहुँदा कसरी मनाउने अन्योलमा छु’, उनले भने ।

लामो समयदेखि काम गर्न नपाउँदा ऋण गरेर खादै गरेपनि अहिले त्यही ऋण पनि तीर्न नसक्दा खानाका लागि नुन, तेल, चामल समेत सकिन लागेको उनको भनाइ थियो । सीतामाया र आरती जस्तै यहाँका खड्का बहादुर, मिलनबहादुर, बिजुला लगायतका बोटेहरुको समस्या उस्तै छ ।

बोटे समुदायका अध्यक्ष झङ्कबहादुर बोटेले सो क्षेत्रमा ३० घरपरिवार रहेकोमा १५ घरलाई दशै मनाउनका निकै समस्या भएको छ । मादीमा डुङ्गा खियाउने अनि माछा मारेर बिक्री गर्ने बोटे समुदायको पुख्र्यौली पेशा हो । लमजुङ, तनहुँ र कास्कीको त्रिवेणीजस्तो छ उक्त ठाउँ ।

विगतमा मादीमा पुल नहुँदा त्यसक्षेत्रका वासिन्दालाई डुङ्गाबाट वारपार गराउने, मादी र रिस्ती खोलामा माछा मारेर दुईपिप्ले, दोभान, चर्दीपसल, सोतीपसल, तनहुँका दुलहीपानी, सत्रसय र सिसाघाट लगायतका स्थानीय बजारहरुमा बिक्री गर्दै जीवन निर्वाह गर्दै आएपनि पछिल्लो समयमा माछा मार्ने पेशा समेत धरापमा पर्दे गएपछि ज्यालामजदूरी गर्दै आएको बोटे समुदायको भनाइ छ ।

गरिबीकै कारणले दुईपिप्ले बजार क्षेत्रका ‘भूमिपति’ भनिएका बोटे समुदायका अधिकांशले जमिन समेत बिक्री गरिसकेको इन्द्रमायाले बताए । न काम न दाम हुँदा दशैँ पनि नभएको जस्तो हुन थालेको उनीहरूको भनाइ छ ।

अशिक्षा र गरिबीकै कारणले यो समुदाय पछिल्लो समयमा विपन्न बन्दै गएकाले दैशँ मनाउनलाई समस्या हुन थालेको मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठले भने, ‘दशैँ मनाउन बोटे समुदायलाई राहतको आवश्यकता छ, उनीहरूको समस्याको बारेमा नगरपालिकामा कुरा राखेको छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट