मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत-Sutra News

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत

शुक्रबार, ७ कार्तिक २०७७

शुक्रबार, ७ कार्तिक २०७७

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।  शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकबाट अविश्वासको प्रस्ताव अस्वीकृत भएको हो। 



बैठकमा नेकपाका ३२ मध्ये १८ जना सांसद उपस्थित भएका थिए । संसदीय दलको बैठकमा शाही पक्षधर सांसदहरु उपस्थित भएपनि अविश्वास प्रस्ताव ल्याउने यमराज कँडेल पक्ष उपस्थित भएनन् । 

नेकपाकी प्रमुख सचेत सीताकुमारी नेपालीले अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको जानकारी दिइन् ।  ‘अविश्वासको प्रस्ताव बैठकमा निर्णयार्थ पेश भयो,’ नेपालीले भनिन्, ‘पक्षमा १८ र विपक्षमा कुनै मत खसेन् ।’ 

एकपटक अस्वीकृत भएपछि संवैधानिक व्यवस्थाअनुसार अब कुनैपनि दलले एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने उनले बताइन् । २५ असोजमा मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै पार्टीका १८ जना संसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । 

अविश्वास प्रस्ताव दर्ता भएलगत्तै यसअघि प्रमुख सचेतक रहेका गुलाबजंग शाहीलाई बर्खास्त गरेर नेपालीलाई नियुक्त गरेका थिए ।  प्रमुख सचेतकमा नियुक्त भएकी नेपालीले कार्तिक ७ गते संसदीय दलको बैठक बोलाएकी थिइन् ।  अविश्वास प्रस्ताव दर्ता गर्ने १८ जना सांसदमध्ये नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ७ जनाले शाहीलाई साथ दिएका छन् । 

आफ्नो समूहबाट तीन जनालाई मन्त्रीमण्डलमा सहभागी गराउने शर्तमा उनीहरुले शाहीलाई साथ दिएका हुन् ।  अब अविश्वास प्रस्ताव अस्वीकृत भएसँगै कर्णालीमा मन्त्रीमण्डल हेरफेरको सम्भावना बढेको छ । शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि दुई पक्षबीचको विवाद मिलाउन प्रदेशदेखि केन्द्रसम्मका नेताहरु प्रयासरत थिए । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट