राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा ट्रम्प र बाइडेनबीच अन्तिम बहस, कसले के भने ?-Sutra News

राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा ट्रम्प र बाइडेनबीच अन्तिम बहस, कसले के भने ?

शुक्रबार, ७ कार्तिक २०७७

शुक्रबार, ७ कार्तिक २०७७

एजेन्सी । अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ । राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनका बीचमा टेलिभिजन बहस भएको हो । बहसमा बाइडेनले ट्रम्प प्रशासन र त्यसको कार्यशैलीप्रति चर्को आलोचना र टिप्पणी गरेका थिए । उनले विशेष गरेर कोरोना महामारी व्यवस्थापन गर्न तथा जनता र अर्थतन्त्र जोगाउन नसकेको आरोप ट्रम्पमाथि लगाएका थिए ।



जवाफमा राष्ट्रपति ट्रम्पले बाइडेनको आरोपको खण्डन गर्दै आफ्नो कार्यकाल अत्यन्त सफल भएको दावी गरेका थिए । उनले कोरोना भाइरसका विरुद्धमा लगाइने खोप केही हप्तामा आउने र महामारी पूर्ण रुपमा नियन्त्रण हुने जिकिर गरेका थिए । बहसका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरु कोरोनाभाइरस सँगसगै बाँच्न सक्ने भइसकेको बताएका थिए ।

ट्रम्पको भनाइले महामारी विरुद्ध लड्न वा महामारीको सामना गर्न वा व्यवस्थापन गर्न ट्रम्प प्रशासनसँग कुनै योजना नरहेको पुष्टि भएको पनि बाइडेनको तर्क थियो । ‘उहाँको कुरा सुन्ने हो र मान्ने हो भने उहाँले कोरोना भाइरसको महामारी व्यवस्थापनका लागि जादु गर्ने बाहेक अरु केही देखिएन,’ बाइडेनले भने ।

टेनेसी राज्यको नेस्भिलमा भएको उक्त बहस कोरोना विरूद्धको लडाइँ, अमेरिकी परिवार, जातियता, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा, नेतृत्वलगायतका विषयमा केन्द्रित भएको थियो ।
बहसको शुरुमा यसअघिको पहिलो राष्ट्रपतीय बहसपछि पनि अमेरिकामा थप १६ हजार अमेरिकीहरुले कोरोनाका कारण जीवन गुमाएको तथ्याँक प्रस्तुत गरिएको थियो । त्यसपछि नै ट्रम्पको प्रस्तुति खल्लो, हल्का र अपत्यारिलो भएको टिप्पणी गरिएको छ ।

जवाफमा बाइडेनले व्यापार र अर्थतन्त्रलाई जोडेर व्याख्या गर्दै चीनले अन्तर्राष्ट्रिय नियम अनुसार चलोस् भन्ने आफ्नो चाहना हुने बताएका थिए । पहिलो राष्ट्रपतीय बहसभन्दा यस पटकको बहस बढी व्यवस्थित र अमेरिकी मूल मुद्दाहरुमा केन्द्रित भएको थियो । अमेरिकामा राष्ट्रपतिका दुई आकांक्षीलाई सँगै उभ्याएर प्रश्न सोध्ने प्रचलन छ, र यो निकै लोकप्रिय हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट