कांग्रेसले भन्यो- आफ्नै कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौं ?-Sutra News

कांग्रेसले भन्यो- आफ्नै कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौं ?

शनिबार, ८ कार्तिक २०७७

शनिबार, ८ कार्तिक २०७७

काठमाडौं । पर्सा विन्दावासिनी गाउँपालिका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरासियाको हत्याको घटनाबारे गहिरो छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको हो ।



नेकपाकै कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राख्ने भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेका छन् ।

हत्याको जाहेरी समेत नलिएको र अस्पतालमै मृतकको शव रहिरहनु दुखद् भएको कांग्रेसको भनाइ छ ।

पार्टीले घटनाको दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुन कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो भनेको छ ।

यसका साथै पार्टीले निष्पक्ष अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अविलम्ब सुरू गर्न समेत संघीय र प्रदेशलाई आग्रह गरेको छ ।

गत बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झडप भएको थियो । एक पक्षलाई नबोलाएको भन्दै पार्टीकै कार्यकर्ताबीच झडप भएको थियो।

उक्त झडपमा आठ जना घाइते थिए । त्यसमध्ये चौरासिया गम्भीर घाइते भएका थिए। घाइते चौरासियाको शुक्रबार बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट