मुकेश चौरसियाको हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रचण्डको माग-Sutra News

मुकेश चौरसियाको हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रचण्डको माग

आइतबार, ९ कार्तिक २०७७

आइतबार, ९ कार्तिक २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।  



उनले आइतबार विज्ञप्ति निकालेर दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । कात्तिक ६ गते नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको सपथ ग्रहण समारोहमा नेकपाकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका मुकेशको भोलिपल्ट मृत्यु भएको छ ।

यसअघि नेकपाको पर्सा जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवले विज्ञप्ति निकालेर चौरसियालाई शहीद घोषणा गर्न र हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका थिए । प्रचण्डले आफू नेकपाको केन्द्रीय कार्यकारी अध्यक्षको हैसियतमा जिल्ला कमिटीको वक्तव्यलाई समर्थन गर्ने बताएका छन् ।

हत्याको घटनामा प्रहरीले जाहेरी लिन आनाकानी गरेको भन्दै प्रचण्डले कारबाही अघि बढाउन माग गरेका छन् । ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ’ प्रचण्डले भनेका छन् ।

यसअघि प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नै कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौं ? भन्दै व्यंग्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट