काठमाडौं- सुदूरपश्चिम प्रहरी प्रमुख नायव महानिरिक्षक उत्तम सुवेदीले चाडबाडको समयमा आफू रमाइलो गर्नेभन्दा पनि यस समयमा हुने अपराधिक गतिविधिमा आफ्नो ध्यान केन्द्रित भइरहेको बताएका छन् ।
अहोरात्र जनताको सेवामा खटिने सुवेदीले दशैँ सुदूरपश्चिम प्रहरी परिवारसँगै मनाएको बताएका छन् । उनले भने, ‘यसपटक परिवारबाट टाढा छु । तर, मेरो ठूलो प्रहरी परिवार छ । सुदूरपश्चिम प्रहरी परिवारसँगै दशैँ मनाइरहेको छु ।’
सुवेदीले आफू प्रहरी संगठनको जिम्मेवार सदस्य भएका कारण चाडवाडमा रमाइलो गर्नेभन्दा पनि अरूलाई सुरक्षित बनाउने भन्नेतर्फ ध्यान केन्द्रित भएको बताए ।
मदिरा सेवन गरी सवारीसाधन चलाउने प्रवृत्तिका कारण दशैँमा दुर्घटनाका हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिंदै सुवेदीले जहाँ ट्राफिक प्रहरी संख्या कम छ त्यहाँ प्रहरी थप गरेको पनि बताए ।
‘विशेष सुरक्षा योजना अनुसार हाईवे, गल्लीमा सरप्राईज चेक गर्ने गरेका छौं । तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको पाइएमा कारबाही गर्ने गरेका छौं । सुदूरपश्चिममा ४० स्थानमा हेल्पडेक्स राखेका छौं । तीव्र गतिमा र मापसे गरेर सवारसाधन नचलाउन चालकहरूलाई सम्झाउने गरेका छौं,’ सुवेदीले भने ।