बिरामीलाई घर-घरमै उपचार खर्च-Sutra News

बिरामीलाई घर-घरमै उपचार खर्च

मंगलबार, ११ कार्तिक २०७७

मंगलबार, ११ कार्तिक २०७७

बागलुङ  ।  बागलुङको जैमिनी नगरपालिका वडा नं-२ दमेककी तुलसी सापकोटा अर्बुद रोग पीडित हुन् । लामो समयदेखि उपचार गराइरहेकी उनलाई आर्थिक अभाव भएको छ ।



उपचारमा लाग्ने खर्च जुटाउन मध्यम परिवारको सदस्य भएकाले उनलाई कठिन छ । विभिन्न माध्यमबाट सहयोगको याचना गरिरहेका सापकोटालाई ‘हाम्रो जैमिनी’ नामक संस्थाले आर्थिक सहयोग गरेको छ । 

संस्थाले विदेशमा रहेका आफ्ना सदस्यले संकलन गरेर पठाएको रकममध्ये रु २५ हजार सापकोटाको उपचारका लागि उपलब्ध गराएको हो ।

जैमिनी-५ बिनामारेका श्रवण सुनुवार मिर्गौला रोग पीडित हुन् । उनका दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचार चलिरहेको छ । आर्थिकावस्था कमजोर भएका उनलाई पनि समूहले रु २५ हजार सहयोग गरेको छ ।  

जैमिनी-७ जैदीकी कोपिला शर्मा पनि दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि उपचाररत छन् । उनको आर्थिक अवस्था कमजोर रहेकाले समूहले रु २५ हजार  उपचार खर्च सहयोग गरेको समूहका अध्यक्ष छायादत्त चापागाईंले जानकारी दिए ।  

समूहले विपत् व्यवस्थापन अभियान नै चलाएको छ । अप्ठेरामा परेकालाई आर्थिक र भौतिक दुवै सहयोग गर्ने ध्येयले अभियान सञ्चालन गरिएको चापागाईँले बताए ।  

जैमिनी ६ अर्जेवाका अशक्त लालबहादुर नेपाली र बिनामारेका टुहुरा बालकलाई खाद्यान्न तथा नगदसमेत समूहले उपलब्ध गराएको छ ।  

‘जैमिनीका देशविदेशमा रहेका युवाको समूह बनाएर सामाजिक सेवाको अभियान चलाइरहेका छौंँ’ चापागाईंँले भने, ‘विदेशमा साथीहरु खाजा खर्च कटाएर जम्मा गर्नुहुन्छ, यहाँ हामी स्वयंसेवी भावले सहयोग गर्छौँ ।’  

समूहले विदेश विभागसमेत बनाएको छ । एउटै समूहका सदस्य गाउँ र विदेशमा रहँदा सहयोगका लागि संकलित रकमको सदुपयोग हुने र आफ्नै उपस्थितिमा सहयोग गरेको अनुभूति हुने गरेको बेलायतमा रहेका समूहका सदस्य रत्नबहादुर क्षत्रीले बताए ।  बाढीपहिरोजस्ता विपत्तिमा परेका, प्राणघातक रोगग्रस्त र  अतिविपन्नलाई समूहले सहयोग गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट