ओली–प्रचण्ड संवादहीनता तोडियो, ११ दिनपछि बालुवाटारमा भेटवार्ता-Sutra News

ओली–प्रचण्ड संवादहीनता तोडियो, ११ दिनपछि बालुवाटारमा भेटवार्ता

शनिबार, १५ कार्तिक २०७७

शनिबार, १५ कार्तिक २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।



प्रधानमन्त्री ओली र प्रचण्डबीच पछिल्लो ११ दिनयता भेटवार्ता हुन नसक्दा संवाद ठप्प थियो । ओली–प्रचण्डबीच कात्तिक ४ गते कर्णाली प्रदेशको विवाद समाधानका लागि भेट भएको थियो  । त्यसयता उनीहरूबीच संवाद हुन सकेको थिएन ।

‘लामो समयदेखिको संवादहीनताको अवस्थाबाट संवाद शुरु हुनु आफैंमा सकारात्मक हो,’ नेकपाका एक नेताले सूत्रन्यूजसँग भने, ‘सहमति र एकताको विकल्प छैन, संवादबाटै सहमति खोज्नुपर्छ भन्नेमा दुवै पक्ष सकारात्मक छन्, विधि र प्रक्रियाबाटै अघि बढ्नुपर्ने भएकाले संवाद गर्नुको विकल्प छैन ।’

पूर्वमाओवादी कोटाबाट कर्णालीका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव तयार लगायत निर्णयबाट ओली–प्रचण्डबीच दूरी बढेको थियो ।

कात्तिक ४ गते ओली र प्रचण्डबीच मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्तासँगै भएका पछिल्ला सबै राजनीतिक नियुक्ति बदर गर्ने सहमति भएको थियो ।

सहमति अनुसार कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा शाहीद्वारा नियुक्त सिता नेपालीको निर्णय बदर गरी पूर्ववत् रुपमा सचेतकमा कायम गर्ने र मुख्यमन्त्रीविरुद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय भए पनि प्रचण्ड पक्षले उक्त विवाद प्रदेश तहबाटै टुंग्याउनुपर्ने भन्दै निर्णय कार्यान्वयन नगरेपछि अध्यक्षद्वयबीच दूरी बढेको थियो ।

स्थायी समितिले सरकारको समीक्षासहित मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिको मापदण्ड तयार गरेर पार्टीको सहमति अनुसार सरकार अघि बढ्नुपर्ने बताए पनि प्रधानमन्त्री ओली एकलौटी ढंगले अघि बढेपछि सम्बन्ध चिसिएको थियो ।

अध्यक्षद्वयबीच संवादहीनता देखिएपछि महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र प्रदीप ज्ञवाली लगायतले संवादका लागि पहल गरेका थिए ।

केही महिनाअघि पार्टी विभाजन नजिक पुगेर सहमति कायम भएको नेकपाले आगामी चैत अन्तिम साता एकताको महाधिवेशन गर्नेगरी पार्टी गतिविधि बढाउने निर्णय गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट