कर्णाली प्रदेश विवादः मुख्यमन्त्री शाहीले ओली पक्षका मन्त्रीलाई हटाउँदै, यी हुन् नयाँ बन्ने मन्त्री-Sutra News

कर्णाली प्रदेश विवादः मुख्यमन्त्री शाहीले ओली पक्षका मन्त्रीलाई हटाउँदै, यी हुन् नयाँ बन्ने मन्त्री

आइतबार, १६ कार्तिक २०७७

आइतबार, १६ कार्तिक २०७७

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । आफूविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि मुख्यमन्त्री शाहीले मन्त्रीहरू हेरफेर गर्न लागेका हुन् ।



शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका मन्त्रीलाई हटाउन लागेका छन् । उनले सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई हटाउन लागेका हुन् । स्रोतका अनुसार मुख्यमन्त्री शाहीले शनिबार नै ओली पक्षका दुई मन्त्रीलाई राजीनामा दिन भनिसकेका छन् ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार ओली पक्षका मन्त्रीहरू हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई मन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

मुख्यमन्त्री शाही निकट एक नेताका अनुसार नयाँ बन्ने मन्त्रीहरूमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा छन् । ‘कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलेको छैन,’ उनले भने ।

हटाउने संकेत पाएपछि पद त्यागेको संकेत

मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले पद त्यागेको संकेत सामाजिक सन्जालमार्फत् दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’

ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाएका थिए । यो प्रकरणमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एक ठाउँमा आएपछि कर्णाली प्रदेशमा ओली पक्ष अल्पमतमा परेको छ ।

मुख्यमन्त्री शाहीले हटाए हट्ने, तर राजीनामा नदिने

स्रोतका अनुसार मुख्यमन्त्री शाहीले हटाए हट्ने, तर रावल र बुढाले पदबाट राजीनामा भने नदिने भएका छन् । प्रधानमन्त्री ओलीकै सल्लाहमा राजीनामा नदिने, बरु हटाए हट्ने तयारी रावल र बुढाले गरेको बताइएको छ ।

मुख्यमन्त्री शाहीले ओली पक्षका मन्त्रीहरू हटाउने तयारी गरेकोबारे हिजो साँझ नै बालुवाटारले सूचना पाएको थियो । त्यसपछि प्रधानमन्त्री ओली निकटका नेताहरु छलफलमा समेत बसेका थिए । मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव तयार पार्ने पक्षमा उभिएकाले रावल र बुढालाई हटाएर वरिष्ठ नेता नेपाल पक्षका तीन जनालाई मन्त्री बनाउने तयारी भएको छ ।

ओली निकट नेता यमलाल कँडेलको नेतृत्वमा दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल पक्षका ७ जनाले हस्ताक्षर फिर्ता लिएपछि कात्तिक ७ गते उक्त प्रस्ताव अस्वीकृत भइसकेको छ ।

त्यसबेला शाहीले नेपाल पक्षका नेताहरूसँग तीन जना मन्त्री थप्ने र सचेतक दिने सहमति जनाइसकेको बताइएको छ। तर, प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन रोकिदिएका थिए ।

त्यसपछि कर्णालीका नेताहरूलाई काठमाडौं बोलाए पनि ओली र प्रचण्डबीच कुरा मिल्न नसक्दा शाही मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका हुन् । स्रोतका अनुसार, प्रचण्डले नरोके आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको र नयाँ मन्त्री हुनेको नामसमेत टुंगो लगाइसकेको छ ।

मुख्यमन्त्री शाहीले यसअघि नै कुर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् भने अविश्वासको प्रस्ताव अगाडि बढाउने तत्कालीन प्रमुख सचेतक गुलाबजंग शाहीलाई हटाएर सीता नेपालीलाई नियुक्त गरेका छन् ।

मन्त्रिमण्डल पुनर्गठन भएमा कर्णाली सरकारमा नेपाल समूहको ४ र प्रचण्ड समूहको मुख्यमन्त्रीसहित ३ जना हुनेछन् । सरकारमा ओली समूहको उपस्थिति शून्य हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट