प्रचण्डको निर्देशनपछि रोकियो कर्णालीको मन्त्रिमण्डल पुनर्गठन-Sutra News

प्रचण्डको निर्देशनपछि रोकियो कर्णालीको मन्त्रिमण्डल पुनर्गठन

आइतबार, १६ कार्तिक २०७७

आइतबार, १६ कार्तिक २०७७

काठमाडौं- कर्णाली प्रदेशको मन्त्रिमण्डल पुनर्गठन आज नहुने भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि आज मन्त्रिमण्डल पुनर्गठन नहुने भएको हो ।



मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए । मन्त्रिमण्डल हेरफेर गर्ने तयारीसहित उनले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन हिजो साँझ नै आग्रह गरेका थिए ।

तर, प्रधानमन्त्री ओली निकट मन्त्रीहरू दल रावल र नन्दसिंह बुढाले राजीनामा नदिने, बरु हटाए हट्ने अडान लिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी रोकिएको हो ।

प्रधानमन्त्री ओलीले राजीनामा नगर्न, बरु हटाए हट्न भनेपछि मन्त्री रावलले सामाजिक सञ्जालमार्फत् मन्त्रालयबाट बिदाइ हुने संकेत दिएका थिए । अहिले उनले आफ्नो फेसबुक स्टाटस हटाइसकेका छन् ।

तर, प्रचण्डको निर्देशनपछि ओली पक्षका दुवै मन्त्रीलाई मुख्यमन्त्री शाहीले आजै हटाउने तयारी भने रोकिएको छ । नेपाल समूहले मन्त्रीका लागि चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम सिफारिस गरेको छ ।

मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव तयार पार्ने पक्षमा उभिएकाले रावल र बुढालाई हटाएर वरिष्ठ नेता नेपाल पक्षका तीन जनालाई मन्त्री बनाउने तयारी गरेका थिए ।

ओली निकट नेता यमलाल कँडेलको नेतृत्वमा दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल पक्षका ७ जनाले हस्ताक्षर फिर्ता लिएपछि कात्तिक ७ गते उक्त प्रस्ताव अस्वीकृत भइसकेको छ ।

त्यसबेला शाहीले नेपाल पक्षका नेताहरूसँग तीन जना मन्त्री थप्ने र सचेतक दिने सहमति जनाइसकेको बताइएको छ। तर, प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन रोकिदिएका थिए ।

त्यसपछि कर्णालीका नेताहरूलाई काठमाडौं बोलाए पनि ओली र प्रचण्डबीच कुरा मिल्न नसक्दा शाही मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका थिए । स्रोतका अनुसार, प्रचण्डले नरोके आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको र नयाँ मन्त्री हुनेको नामसमेत टुंगो लगाइसकेको थियो ।

मुख्यमन्त्री शाहीले यसअघि नै कुर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् भने अविश्वासको प्रस्ताव अगाडि बढाउने तत्कालीन प्रमुख सचेतक गुलाबजंग शाहीलाई हटाएर सीता नेपालीलाई नियुक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट