पार्टी एकता गम्भीर संकटमा: महासचिव पौडेल-Sutra News

पार्टी एकता गम्भीर संकटमा: महासचिव पौडेल

आइतबार, १६ कार्तिक २०७७

आइतबार, १६ कार्तिक २०७७

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलले नेकपा एकता गम्भीर संकटको मोडमा आएको जनाएका छन् । 



सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पार्टीको संकट नेतृत्व तहमा उत्पन्न भएको अन्तरविरोधका कारण उत्पन्न भएको संकेतसमेत गरेका छन् । उनले पार्टीको अविभाज्य अस्तित्वमा बारम्बार प्रश्न उठेकोसमेत औँल्याएका छन् ।

उनले लेखेका छन्, ‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रोसामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी थियो । तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिवेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।’

उनले थप लेखेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवं विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरूलाई अनुरोध गर्दछु ।’ 

उनले जुन उद्देश्यसहित तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच भएको एकता भएकाे थियाे सोबमोजिम अघि बढ्न नसकेर गम्भीर मोडमा आइपुगेको जनाएका छन् । 

नेकपामा अहिले दुई अध्यक्षबीच संवादहीनताको अवस्था चलिरहेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुराकानी हुन सकेको छैन भने उनीहरूबीच बोलचाल गराउन दोस्रो तहका नेताहरूको सक्रियता बढेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट