मोरङ र सिन्धुलीमा थप तीन संक्रमितको मृत्यु-Sutra News

मोरङ र सिन्धुलीमा थप तीन संक्रमितको मृत्यु

सोमबार, १७ कार्तिक २०७७

सोमबार, १७ कार्तिक २०७७

काठमाडौं– मोरङ र सिन्धुलीमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल र नोबेल मेडिकल कलेजमा पछिल्लो २४ घण्टामा थप दुई संक्रमितको मृत्यु भएको हो ।



विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको उपचारका क्रममा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार साँझ मृत्यु भएको छ ।

अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार कात्तिक ७ गते कोरोना पुष्टि भएपछि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको मृत्यु भएको हो ।

यस्तै नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्धको पनि मृत्यु भएको छ ।

पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएकोमा उपचारका क्रममै आइतबार साँझ मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

यस्तै सिन्धुलीमा पनि कोरोना भाइरसको संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीटंकीकी एक ८४ वर्षीया वृद्धाको मृत्यु भएको हो।

सिन्धुली अस्पतालमा उपचारका क्रममा उनको आइतबार राति मृत्यु भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट