पार्टी एकतामा सक्रिय पहल गरौँ- नारायणकाजी-Sutra News

पार्टी एकतामा सक्रिय पहल गरौँ- नारायणकाजी

सोमबार, १७ कार्तिक २०७७

सोमबार, १७ कार्तिक २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेको बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट एकता रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् ।



पार्टी फुट कदापि उचित र सही हुन नसक्ने बताउँदै उनले फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुने उल्लेख गरेका छन् ।

‘देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं,’ नेता श्रेष्ठले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौ ।’

व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान नदिने उनको भनाइ छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता ‘महान क्रान्तिकारी उद्देश्य’लाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको स्मरण गर्दै उनले यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन नसक्ने उल्लेख गरेका छन् ।

उनले पार्टीको बैठक बस्न र सबै पक्षहरुका बारेमा खुला छलफल गर्न आह्वानसमेत गरेका छन् ।

‘पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः बिचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन । तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ, पार्टीको विधि, पद्दति एवं निर्णयको पालना र कार्यान्वयन ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट