मेयर: जो सरकारी रकमबाट चिया खाँदैनन्, तलब-भत्ता विकास निर्माणमा खर्च-Sutra News

मेयर: जो सरकारी रकमबाट चिया खाँदैनन्, तलब-भत्ता विकास निर्माणमा खर्च

सोमबार, १७ कार्तिक २०७७

सोमबार, १७ कार्तिक २०७७

सर्लाही- बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा सरकारी सेवा सुविधा उपभोग नगरी जनताको सेवामा तल्लीन छन् । उनले हालसम्म नगरप्रमुखले पाउने तलब भक्ता,सवारी, इन्धन लगायतका कुनै पनि सेवा सुविधा लिएका छैनन् ।



ती सुविधा वापत प्राप्त गर्ने रकम नगरका विकास निर्माण तथा विपन्न नागरिकको जीवनस्तर माथि उकास्न लगानी गरेका छन् । उनी तत्कालीन एनेकपा माओवादीबाट निर्वाचित भएका थिए ।

उनी भन्छन्, ‘गाउँ गाउँमा सिंहदरवारको राष्ट्रिय नारालाई सार्थक पार्न र विपन्न जनताको जीवनस्तर माथि उकास्न कुनै सरकारी सेवा सुविधा उपभोग नगरी तल्लीन भएको हुँ ।’

नगर प्रमुखले हालसम्म सरकारी रकमबाट एक कप चिया पनि नखाएको भएको प्रमुख प्रशासकिय अधिकृत विमलकुमार पोख्रेलले जानकारी दिए ।

‘नगर प्रमुख चिया खान आफ्नो निजी निवास तथा होटल जानुहुन्छ । नगरप्रमुखले अहिलेसम्म नगरको रकमबाट व्यक्तिगत प्रयोजनका लागि एक रुपैँया पनि खर्च गर्नु भएको छैन’ उनले भने ।

नगर प्रमुख थापाले निर्वाचनको समयमा जनतासित मत माग्दा जनाएको प्रतिवद्धता अनुरुप सरकारी सेवा सुविधा उपभोग नगरेका नगर उपप्रमुख लिलाकुमारी मोक्तानले बताइन् ।

नगर प्रमुखले नगरमा आएको बजेटमा अनियमितता नहोस् भन्नका लागि वडा अध्यक्षलाई बजेट विनियोजन गरेका छैनन् ।

उनले योजना लिएर आउने, योजना पास गराउने र काम सकेर बजेट लैजाने भन्दै सबै वडा अध्यक्षलाई बताएको वडा नं २ का वडाध्यक्ष दीपक लामाले जानकारी दिए ।

नगर प्रमुख नगरपालिकाको कामले बाहिर जानु पर्दा समेत आफ्नो निजी खर्च गर्ने गरेको नगरपालिकाले जनाएको छ । नगरभित्रका विपन्न नागरिकलाई नगरप्रमुख थापाले निजी खर्चमा उपचार तथा खाद्यन्न सहयोग समेत गर्दै आएका छन् ।

नगरपालिका भित्र ११ वडा रहेका छन् । वडा नं ४ का हरिकृष्ण घिमिरे र वडा नं ५ का सुविर लामाले नगरप्रमुख थापाको मानवीय सेवा उत्कृष्ट रहेको बताउँछन् ।

करिब १ सय २० विघामा नगर बगैँचा,करिब २ सय विघामा पोखरी, उद्यान लगायतका योजना नगरपालिकाले सार्वजानिक गरेको छ । नगरपालिकामा कार्यरत कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु पर्ने नियम बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट