अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउने चीनको तयारी-Sutra News

अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउने चीनको तयारी

बुधबार, १९ कार्तिक २०७७

बुधबार, १९ कार्तिक २०७७

एजेन्सी- अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।



हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचार अनुसार चीनले अस्ट्रेलियाबाट बर्सेनी ३९ करोड ४० लाख अमेरिकी डलर बराबरको गहुँ खरिद गर्ने गरेको छ ।

आगामी शुक्रबारदेखि नै चीनले अस्ट्रेलियाबाट जौ, चिनी, रातो अंगुर, काठ, कोइला, तामाको धाऊ समेतका कतिपय वस्तुको आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । गहुँ आयातमा गर्न लागिएको प्रतिबन्ध कहिलेदेखि लाग्नेछ भन्ने स्पष्ट भइसकेको छैन ।

चिनियाँ आयातकर्ताहरुले तोकिएको मितिभन्दा पछि अस्ट्रेलियाली प्रतिबन्धित सामग्री आए त्यसको जिम्मेवार आयातकर्ताहरु नै हुने चिनियाँ अधिकारीहरुले चेतावनी दिएका छन् । अधिकारीहरुले परिवर्तित नियमहरुलाई कडाईका साथ लागू गर्न आदेश दिएका छन् ।

अस्ट्रेलियाले गत अप्रिलमा कोरोना भाइरसको उत्पत्ति चीनबाट भएको दोषारोपण गरेयता चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा तिक्तता आएको छ ।

त्यसयता चीनले अस्ट्रेलियाबाट आयात हुने सामानमा करवृद्धि गरिसकेको छ । चिनियाँ भन्सार प्रशासनले शुक्रबार अस्ट्रेलियाबाट आयातित काठमा शंकास्पद विषादी भेटिएको जनाउँदै चीन प्रवेशमा रोक लगाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट