सुर्खेत- सुर्खेको वीरेन्द्रनगरमा प्रहरीले सात जना जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर–७, स्थित निर्मला शाहीको घरबाट ५६ हजार रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।
सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा घर धनी ३५ वर्षीया निर्मला शाही, ३१ वर्षीय खगेन्द्र खत्री, २९ वर्षीय चेतन आचार्य, वडा नम्बर–८, का ३२ वर्षीय जीवन सुनार, वडा नम्बर–९, का २५ वर्षीय प्रवेश गुरुङ रहेका छन् ।
त्यस्तै वडा नम्बर–३, का ३६ वर्षीय खम्बबहादुर शाही र वडा नम्बर–६, का ३२ वर्षीय निराजन शाहीलाई पक्राउ गरिएको डीएसपी घर्तीले जानकारी दिए ।
उनीहरूको साथबाट ५६ हजार ६ सय १० रूपैयाँसमेत बरामद गरिएको छ । थप अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।