बाँकेमा उपचारारत ३० संक्रमित सिकिस्त-Sutra News

बाँकेमा उपचारारत ३० संक्रमित सिकिस्त

बिहिबार, २० कार्तिक २०७७

बिहिबार, २० कार्तिक २०७७

बाँके- कोरोना संक्रमण भई बाँकेका दुई ठूला अस्पतालमा उपचारारत ३० बिरामी सिकिस्त अवस्थामा पुगेका छन् । भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना संक्रमितमध्ये ३० जना सिकिस्त रहेको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।



उनका अनुसार, भेरी अस्पतालमा १८ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ३० बिरामी सिकिस्त रहेका छन् । भेरीमा ३६ र कोहलपुरमा १४ गरी मध्यम खालका बिरामी ५० जना रहेका छन् ।

भेरीमा नौ र कोहलपुरमा १२ जना गरी अस्पतालमा २१ जना सामान्य बिरामी उपचाररत रहेका छन् । बाँके र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा भर्ना भएका संक्रमितको दैनिकजसो मृत्यु भइरहेको छ ।

लक्षण देखिएका बिरामीलाई सामान्य, मध्यम र सिकिस्त तीन चरणमा विभाजन गरेर उपचार दिने गरिएको स्रोत व्यक्ति श्रेष्ठको भनाइ छ । कोरोना संक्रमित सिकिस्त बिरामी जोखिममा रहने गर्दछन् ।

बाँकेका विभिन्न स्थानीय तहमा १९१ जना कोरोना संक्रमित रहेका छन् । उनीहरु होम आइसोलेसनमा बसेका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा ९३, कोहलपुर नगरपालिकामा ४१, खजुरा गाउँपालिकामा १०, बैजनाथ गाउँपालिकामा १४, जानकी गाउँपालिकामा १७ र राप्ती सोनारी गाउँपालिकामा ६ जना होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

बाँकेमा हालसम्म कोरोनाका कारण १३ महिला र २१ पुरुष गरी ३४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको सङ्ख्या तीन हजार २८७ पुगेको छ भने दुई हजार ९७३ जना निको भई घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट