कोरोना प्रभावः घट्यो भाइमसलाको भाउ-Sutra News

कोरोना प्रभावः घट्यो भाइमसलाको भाउ

शुक्रबार, २१ कार्तिक २०७७

शुक्रबार, २१ कार्तिक २०७७

काठमाडौं- तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य यो वर्ष २० प्रतिशतले कम भएको छ । भाइमसलाको मूल्य घटेपनि कोभिड–१९ को जोखिमका कारण व्यापार भने आधा भन्दा बढीले घटेको छ ।



चाड तिहारको पाँचौँ दिनमा पर्ने भाइटीकामा हिन्दु परम्पराअनुसार भाइमसला अनिवार्य हुन्छ । भाइमसलामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेल लगायत पर्छन् ।

यी मसलाहरुको गुणस्तर अनुसार फरक भए पनि विगत वर्षहरु भन्दा कम रहेको असन क्षेत्रमा व्यापार गर्दै आएका संजयदत्त तुलाधरले बताए । मूल्य कम भए पनि ग्राहक न्यून संख्यामा मात्रै आउने गरेको उनले बताए ।

बजारमा पसलहरु अनुसार मूल्य भने फरक छ । होलसेल पसलबाट खुद्रा व्यापारीहरुलाई समान प्रकारले छुट सुविधा भएपनि खुद्रा पसलहरुमा मूलय फरक पाइएको हो ।

सामानको गुणस्तर अनुसार मूल्य फरक भएको व्यवसायीहरु बताउँछन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि भाइमसलाको मूल्य कम भएको अर्का व्यापारी लोचनकाजी तुलाधरले बताए । विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको उनको भनाइ छ ।

यो वर्ष बजारमा काजु प्रतिकेजी १ सय रुपैयाँदेखि २ सय रुपैयाँसम्मले घटेको छ । किसमिस सय रुपैयाँसम्म, पेस्ता, नरिवल ५० रुपैयाँले घटेको छ । यसैगरी छोकडा प्रतिकेजी २० रुपैयाँ र सुकुमेल केजीमा ५ सय रुपैयाँसम्मले घटेको खुद्रा व्यापार संघले जनाएको छ ।

होटल, रेस्टुरेण्ट, मिठाइ पसलहरुमा मसला विक्रि हुने गरेको भएपनि कोभिड–१९ का कारण होटल व्यवसाय नै कमजोर बनेकाले मसलाको व्यापार पनि खस्केको हो ।

व्यापारीहरुले धरै समयसम्म गोदममै सामान राख्दा विग्रिने डरले पनि यो वर्ष सस्तोमा दिन थालेका हुन् । अहिलेपनि कोभिड–१९ को जोखिम कायमै रहेको छ । सरकारले चाडपर्वहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाउन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट