बाइडेनलाई विश्वका नेताहरूको बधाई तथा शुभकामना-Sutra News

बाइडेनलाई विश्वका नेताहरूको बधाई तथा शुभकामना

आइतबार, २३ कार्तिक २०७७

आइतबार, २३ कार्तिक २०७७

काठमाडौं- अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई विश्वका नेताहरुले बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।



राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा ‘धाँधली’ भएको र आफूबाट नतिजा ‘खोसिएको’ आरोप लगाए पनि विश्वका नेताहरुले राष्ट्रपतिमा निर्वाचित बाइडनेले उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई तथा शुभकामना दिइरहेका छन् । ट्रम्पले धाँधलीको आरोप लगाए पनि अहिलेसम्म कुनै पनि प्रमाण नभेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जो बाइडेन र कमला ह्यारिसलाई बधाई तथा शुभकामना दिएका छन् । अमेरिकासँग सहकार्यको अपेक्षा रहेको उनले उल्लेख गरेका छन् ।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले बाइडेन र ह्यारिसलाई बधाई दिँदै दुई देशबिच रहँदै आएको मित्रवत सम्बन्धलाई थप बिस्तार गर्नका लागि सहकार्यको अपेक्षा रहेको उल्लेख गरेका छन् ।

यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बधाई तथा शुभकामना दिँदै अमेरिका बेलायतको महत्वपूर्ण सहयात्री रहेको भन्दै जलवायु परिवर्तन तथा सुरक्षासहितका क्षेत्रमा सहकार्य गरि काम गर्ने अपेक्षा गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बाइडेन र ह्यारिसलाई शुभकामना दिँदै अमेरिकी नागरिकले आफ्नो नेता चुनेको उल्लेख गरेका छन् । उनले सहकार्यका लागि तयार रहेको उल्लेख गरेका छन् । स्पेनका राष्ट्रपति पेद्रो सान्चेजले पनि दुई नेतालाई शुभकामना दिएका छन् । उनले विश्व सामु रहेका समस्या समाधानका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् ।

यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बाइडेन र कमला ह्यारिसलाई शुभकामना दिएका छन् । उनले भिन्दा भिन्दै ट्वीट गरेर बाइडेन र ह्यारिसलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले बाइडेन र ह्यारिसलाई शुभकामना दिँदै एकताको सन्देशमा काम गर्नु पर्ने उल्लेख गरेकी छन् । बाइडेन र ह्यारिसलाई विश्वका अरु नेताले शुभकामना दिँदै क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट