इराकमा नोभेम्बरको अन्त्यमा नयाँ शैक्षिक सत्र शुरु गरिने-Sutra News

इराकमा नोभेम्बरको अन्त्यमा नयाँ शैक्षिक सत्र शुरु गरिने

सोमबार, २४ कार्तिक २०७७

सोमबार, २४ कार्तिक २०७७

एजेन्सी- इराकमा यही नोभेम्बर महिनाको अन्त्यदेखि नयाँ शैक्षिक सत्र शुरु गरिने भएको छ । सरकारी अधिकारीहरुले नोभेम्बर २९ देखि नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको जनाइएको छ । 



अधिकारीहरुका अनुसार इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीको उपस्थितिमा बसेको स्वास्थ्य तथा सुरक्षासम्वन्धी उच्चस्तरीय आयोगको बैठकले शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको हो ।

आयोगको बैठकमा भएको सहमतिअनुसार शिक्षा मन्त्रालयले आवश्यक प्रवन्ध गर्ने जानकारी दिइएको छ । यसअघि उप–शिक्षा मन्त्री फलाह अल क्विसीले गत अक्टोबर २७ का दिन प्रेस वक्तव्य जारी गर्दै शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए ।

शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भने स्वास्थ्य सतर्कतासम्वन्धी आधारभूत मापदण्डको भने पालना गरिने उनले स्पष्ट पारे । यसअघि लागु हुँदै आएको पाठ्यक्रममा संशोधन गरी नयाँ अवस्था अनुसारको नयाँ पाठ्यक्रम बनाउने कार्य भइरहेको पनि उनले जानकारी दिएका छन् ।

त्यसैगरी अध्ययन अध्यापन कार्य विद्युतीय माध्यम तथा शैक्षिक टेलिभिजन च्यानल मार्फत् गर्ने बारेमा पनि सोँचविचार भइरहेको उनको भनाइ छ । अधिकारीहरुले शैक्षिक क्रियाकलाप सुचारु गराउने निर्णय गरिरहँदा पछिल्लो एक दिनमा इराकमा दुई हजार ८८० जना सङ्क्रमित भएका छन् ।

योसँगै इराकमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या चार लाख ९६ हजार १९ पुगेको इराकी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट