अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो-Sutra News

अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो

सोमबार, २४ कार्तिक २०७७

सोमबार, २४ कार्तिक २०७७

हुम्ला- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो ।



रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ । बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुन थालेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी निरीक्षक तथा बिओपी हिल्साका प्रमुख सुरज केसीले जानकारी दिए ।

यहाँको तापक्रम माइनसमा झरेकाले खानेपानीका धारामै बरफ जमेको छ । दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको हो । हिल्सामा होटल व्यवसायी कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी रहँदै आएको केसीले जानकारी दिए ।

चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकीले मंसिर पहिलो सातातिर सिमकोट सर्ने तयारी गरिरहेको उनले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीको टोली जिल्ला फिर्ता भए पनि सशस्त्र प्रहरी हिउँदको समयमा पनि हिल्सामै रहने छ । मंसिर लागेसँगै हिल्सा, लिमीलगायतका उच्च क्षेत्रमा रहेका प्रहरी चौकी जिल्ला सदरमुकामतिर सर्ने गरेका छन् ।

हिल्सामा बिओपी स्थापना भएसँगै यो वर्षदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिने भएको छ । पुस र माघ दुई महिना हुम्लामा अतधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट