तीनकुने पुल नयाँ प्रक्रियाबाट निर्माण गरिने-Sutra News

तीनकुने पुल नयाँ प्रक्रियाबाट निर्माण गरिने

सोमबार, २४ कार्तिक २०७७

सोमबार, २४ कार्तिक २०७७

काठमाडौं- लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको भएको छ । निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता तोडेसँगै नयाँ प्रक्रियाबाट बनाउन लागिएको हो ।



अब १५/२० दिनमा ठेक्का सम्झौता हुने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । समयानुसार बजार भाउ बढ्दा पहिलेभन्दा बजेट बढ्नेछ । पुल ‘डिजाइन एण्ड बिल्ड’ का आधारमा बनाउन सुरु भएको थियो । आयोजनाका प्रमुख गुरु अधिकारीले भने, ‘पहिलेजस्तै बन्छ, लम्बाई, चौडाइ केही पनि परिवर्तन हुँदैन ।’

सरकारले कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैंकको जमानत फिर्ता लिइसकेको छ । कार्यसम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा ल्याइएको हो । मोबीलाइजेशन कम्पनीलाई उपलब्ध गराएकामा त्यो फिर्ता भएको छ ।

कम्पनीले बीचमा काम छाडेकाले बाँकी काम कति छ त्यो कामको अहिलेको मूल्यमा २५ प्रतिशत सरकारी बाँकी सरह असुल गरिनेछ । उनले भने, ‘त्यो अहिलेको मूल्यको हिसाबले छसात करोड हुनेछ ।’

नयाँ ठेक्का सम्झौतामा गएपछि बनाउन करिब तीन वर्ष लाग्नेछ । पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट