काठमाडौं । मकवानपुर प्रहरीले ८० किलो गाँजा बरामद गरेको छ । बिहीबार हेटौंडा उपमहानगर (१० भुटनदेवीबाट बा ६ च १४७६ नम्बरको कारबाट गाँजा बरामद भएको हो ।
प्रहरी देखेपछि कार तीव्र गतिमा हाँकिएको थियो । पछि भुटनदेवी मन्दिर जाने बाटोमा पार्किङ गरि राखेको उक्त कारबाट प्रहरीले ८० किलो गाँजा बरामद गरेको हो । कारमा सवार मानिस भने भेटिएनन् ।
प्रहरीले स्थानीय र जनप्रतिनिधिको रोहवरमा कारको लक खोलेर हेर्दा गाँजा फेला पारेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
कारमा केही कागजात पनि भेटिएको उनले बताए । यस सम्बन्धी थप अनुसन्धान भइरहेको र कारमा सवार व्यक्तिको खोजि भइरहेको प्रहरीले जनाएको छ ।