काठमाडौं- नेपाल र बंगलादेशबीचको मैत्री पूर्ण खेल आज हुँदैछ । नेपालले बंगलादेशसँग ढाकास्थित बंगबन्धु रंगशालामा अपराह्न ४:४५ बजे हुनेछ ।
‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल हुन लागेको हो । लामो समयपछि अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिएको नेपाल जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक बालगोपल महर्जनले टोलीको प्रशिक्षण राम्रो भएकाले घरेलु टोलीविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताएका छन् ।
‘मैत्रीपुर्ण खेलका लागि हामी (नेपाल) लाई निमन्त्रणा गरेकोमा बंगलादेश फुटबल फेडेरेसनलाई धेरैधेरै धन्यवाद । तर, मैत्रीपुर्ण खेलका लागि हामीले थोरै समय पायौँ । तर, खेल्न पाउनु नै ठूलो कुरा हो,’ खेलअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक महर्जनले भने ।
नेपालले बंगलादेशसँग अन्तिम पटक २०१८ मा भएको साफ च्याम्पियनसिपमा खेलेको थियो । उक्त खेलमा नेपाल २-० ले विजयी रहेको थियो ।