उद्योग व्यवसायलाई निरन्तरता दिने विशेष नीति ल्याउँदै सरकार-Sutra News

उद्योग व्यवसायलाई निरन्तरता दिने विशेष नीति ल्याउँदै सरकार

शुक्रबार, २८ कार्तिक २०७७

शुक्रबार, २८ कार्तिक २०७७

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्योग व्यवसायलाई निरन्तरता दिन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन् ।



कोरोनाबाट धराशायी भएका सबै प्रकारका उद्योग व्यवसायलाई सहुलियत व्याजदरमा ऋण लगानी दिने गरी सरकारले नीति र कार्यविधि पारित गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिए । 

चलचित्र विकास बोर्डको स्थलगत निरीक्षण तथा अनुगमनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, ‘सबै प्रकारका उद्योग तथा व्यवसायलाई निरन्तरता दिन उचित ब्याजदरमा ऋण उपलब्ध गराउन नेपाल सरकार मन्त्रिपरिषद्ले नीति र कार्यविधि पास गरेको छ, यसले कोरोनाबाट धराशायी भएका उद्योग सञ्चालनमा सहज हुने विश्वास छ ।’ 

उनले लगानी संरक्षण र प्रवद्र्धन गर्ने कुरामा सरकार गम्भीर रहेको जनाउँदै यसका लागि सबैको उत्तिकै भूमिका र जिम्मेवारी रहने बताए । उनले राज्य व्यवसायीको अभिभावक बनेर संरक्षण र सहजीकरण गर्न तथा अवरोधको गाँठो फुकाउने काममा निरन्तर लागिरहने विश्वास दिलाए ।

अहिलेको सङ्कटलाई राज्य, नागरिक समाज, उद्यमीलगायत सबै मिलेर समाधान गर्नुपर्नेमा उनले जोड दिए । ‘हामी सबै संयुक्त रुपमा लाग्यौँ भने समस्या समाधान गर्न सकिन्छ, सबै मिलौँ, आर्थिक सङ्कटलाई सही रुपमा समाधान गरौँ, म यही आह्वान गर्दछु’, मन्त्री गुरुङले भने । 

हिजो र अहिलेको चलचित्रको समीक्षा गरी आवश्यक सुधार गर्न चलचित्र विकास बोर्डलाई उनले निर्देशन पनि दिए । समाज रुपान्तरणका लागि चलचित्रले ठूलो योगदान गर्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री गुरुङले सुसंस्कृत समाज निर्माणमा चलचित्रकर्मीको अहं भूमिका रहने बताए । उनले कलाकार सिर्जनशील र रचनात्मक भए मात्रै जनताको विश्वस जित्न सक्ने र चलचित्र उद्योगले फड्को मार्ने बताए ।

अभिभावकले अहिलेका बालबालिकालाई चलचित्र हेरेर समय बर्वाद नगर भन्ने गरेको उदाहरण प्रस्तुत गर्दै मन्त्री गुरुङले केही सिक्नका लागि चलचित्र हेर भन्ने भावना जागृत गराउनेतर्फ लाग्न चलचित्रकर्मीलाई आग्रह गरे । ‘फिल्म क्षेत्र एउटा विश्वविद्यालय जस्तै हो, यसलाई आकर्षक, विश्वसनीय र अन्तराष्ट्रियस्तरको बनाउनु जरुरी छ, तपाईँहरु अघि बढ्नुहोस्, मन्त्रालय सहयोग गर्न तयार छ ।’

उनले कानून, नीति, नियम परिमार्जन गर्नुपर्ने आवश्यकता भए त्यसमा अल्झिनुपर्ने अवस्था आउन नदिइने विश्वास दिलाए । अहिलेसम्म मातहतका निकायको अनुगमन गरी अवस्था बुझ्ने काम भएको र तिहारलगत्तै कार्यक्रम कार्यान्वयनमा जाने हुँदा आवश्यक योजना लिएर मन्त्रालयमा आउन बोर्डलाई उनले निर्देशन दिए । मन्त्री गुरुङले मन्त्रालयअन्तर्गतका कार्यालयको अनुगमन भ्रमणको कार्यक्रम आजै सम्पन्न गरेका छन् । 
 
उक्त अवसरमा सञ्चार सचिव हरिप्रसाद बस्यालले चलचित्र क्षेत्रलाई आवश्यक सहुलियत र सुविधा दिन तथा समस्या समाधानमा आवश्यक नीतिगत सुधार गर्न मन्त्रालय तयार रहेको जानकारी गराए ।

बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा अवैतनिक दूतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक सहजीकरण गर्न मन्त्री गुरुङसँग आग्रह गरे । 

उनले चलचित्र विधेयक छिटो पारित गर्नुपर्ने आवश्यकता पनि औँल्याए । चलचित्र पुनः सञ्चालनका लागि सरकारका तर्फबाट प्याकेज घोषणा गर्न उनले मन्त्री गुरुङसँग अनुरोध गरे । उनले चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्र घोषणा गर्न पनि माग गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट