गोरखा- गोरखा-उत्तरी गोरखामा गएरातिदेखि भीषण हिमपात पर्न शुरु भएको छ । मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात पर्न शाुरु भएको सामागाउँका स्थानीयबासी मिङ्मार लामाले जानकारी दिए ।
हिमपात पर्न शुरु भएसँगै जनजीवन प्रभावित हुन थालेको उनले बताए । ‘हिमपातसँगै चिसो पनि बढ्न थालेको छ’, लामाले भने, ‘दैनिक घरायसी कामकाजमा समेत समस्या हुन थालेको छ ।’
उनले हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिए । ‘मानिसहरु आवतजावत गर्न, विकास निर्माणका काम गर्न, खच्चडबाट समान दुवानी गर्न पनि समस्या भएको छ’, स्थानीयबासी लामाले भने, ‘हिमपातका कारण आवासीय रुपमा सञ्चालनमा रहेका विद्यालयहरु समेत चलाउन कठिनाइ भएको छ ।’
अहिले प्रोकभन्दा माथिल्लो क्षेत्रमा हिमपात परेको चुमनुव्री गाउँपालिका-१ का वडाध्यक्ष बीरबहादुर लामाले बताए।हिमपातका कारण लार्केपास र रुइला नाका जानेबाटो समेत अवरुद्ध भएको छ ।