नेपाल–बंगलादेश मैत्रीपूर्ण दोस्रो खेल बराबरीमा रोकियो-Sutra News

नेपाल–बंगलादेश मैत्रीपूर्ण दोस्रो खेल बराबरीमा रोकियो

मंगलबार, २ मंसिर २०७७

मंगलबार, २ मंसिर २०७७

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बरारबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा गोलरहित बराबरीमा सकिएको हो । दोस्रो खेलमा नेपालले बरारबरी खेलेपनि मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको ट्रफी भने बंगलादेशले जितेको छ । सिरिजको पहिलो खेलमा शुक्रबार नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको थियो ।



आजको  खेलमा बंगलादेशलाई ३-० गोल अन्तरले पराजित गर्न सकेको खण्डमा मात्र नेपाल उपाधि जित्ने सम्भावना थियो  । तर, खेलाडीहरुले गोल गर्न भने सकेनन् । अनुभवी खेलाडी भरत खवासलाई टिमको कप्तानी दिएपनि उनी खेलको १९ औं मिनेटमा नवयुग श्रेष्ठसँग सब्स्टीच्युट भए ।

खवास मैदानबाट बाहिरिएपछि कप्तानी गोलरक्षक किरण कुमार चेमजोङले गरिरहेका छन् । कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले फागुन अन्तिमदेखि नै खेलकुदका गतिविधिमा प्रतिवन्ध लगाएको थियो । त्यसयता नेपालले बंगलादेशसँग खेलेको खेल नै पहिलो हो । अब भने नेपाल सरकारले खेल गतिविधि सुचारुका लागि अनुमति दिइसकेको छ । त्यसैले छठ पछि फुटबलको पनि नियमित अभ्यास सुरु हुने अपेक्षा गरिएको छ ।

दोस्रो खेलमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले सुरुवाती ११ मा केही परिवर्तन गरेका थिए । जसमा रक्षापंक्तिमा पहिलो खेलमा सुरुवाती ११ मा परेका अजित भण्डारी र सुमन अर्यालको स्थानमा छिरिङ गुरुङ र रञ्जित धिमाल मैदानमा उतारिएको थिइ ।

मिडफिल्डमा अनुभवी खेलाडी विक्रम लामाको स्थानमा पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु पाएका एरिक बिष्ट सुरुवाती ११ मा परे ।फरवार्डमा भरत खवास र दर्शन गुरुङले सम्हालेका थिए तर, खेलको १९ औं मिनेटमा भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान छिरे । आजको खेलमा शेसेहाङ आङ्दाम्बे र पुजन नगरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । उनीहरु दुवै खेलाडी सब्स्टीच्युटका रुपमा मैदान प्रवेश गरेका थिए ।

यसैबीच नेपाल र बंगलादेशबीचको खेल हेर्न रंगशाला पुगेका एक दर्शक मैदान छिरेपछि केही समय खेल अवरुद्ध भएको थियो । उनी मैदानमा बंगलादेशका कप्तान जमल बुयानको सेल्फीका लागि पुगेका थिए । जसमा उनले सेल्फी समेत लिए तर, अफिसियल र सुरक्षा गार्ड आएर उनलाई मैदानबाट बाहिर निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट