सीमा नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध धर्ना-Sutra News

सीमा नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध धर्ना

बुधबार, ३ मंसिर २०७७

बुधबार, ३ मंसिर २०७७

सर्लाही- सर्वपक्षीय जिल्ला संघर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलंगवास्थित गोरखकाली नेपाल-भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ । सरकारले कोरोना भाइरसको बहाना बनाएर विगत आठ महिनादेखि जारी राखेको सीमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गरिएको जिल्ला सङ्घर्ष समिति सर्लाहीले जनाएको छ ।



सोमबार जिल्ला समन्वय समितिको आयोजनामा बसेको सर्वपक्षीय बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल-भारत सीमा नाका लामो समयदेखि बन्द रहेका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सीमा नाका खुलाउन आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलंवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मंगलबार र आज ११ बजेदेखि १ बजेसम्म धर्नामा बस्ने निर्णय गरेको थियो । धर्नापश्चात पनि सीमा नाकाहरु खुला नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय भएको जिसस सभापति चौधरीले बताए । 

सरकारले समयमै सीमा नाका नखोले छठ पर्व सकिएपछि थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने सभापति चौधरीले बताए । मुख्य नाका सरकारले औपचारिकरूपमा नखोलिदिएसम्म सर्लाही भन्सार कार्यालयसमेत बन्द रहने उनको भनाइ थियो ।

सीमा नाका सिल भएका कारण स्थानीयस्तरमा हजारौँ नागरिक प्रभावित भई गरिबी, भोकमरी र व्यापक बेरोजगारी बढेको प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद कुशवाहाले बताए । निश्चित मापदण्ड पूरा गरी कोरोना भाइरस परीक्षण डेस्क र सुरक्षा जाँच सञ्चालनमा ल्याई समयमै सीमा नाका खोल्न संघीय सरकारसँग पटकपटक गुहार गरे पनि सरकारले समस्या समाधानका लागि कुनै पहल नगरेकोे उनले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट