गगन थापाले मागे प्रधानमन्त्री ओलीको राजीनामा-Sutra News

गगन थापाले मागे प्रधानमन्त्री ओलीको राजीनामा

बुधबार, ३ मंसिर २०७७

बुधबार, ३ मंसिर २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम भइसकेको बताएका छन् । ‘नेकपाको घर झगडा, राष्ट्रिय राजनीति र सरकार सञ्चालन’ बारे बुधबार लिखित धारणा सार्वजनिक गर्दै सांसद थापाले सरकारको नेतृत्व गर्न प्रधानमन्त्री ओली अयोग्य भइसकेको आरोप लगाएका हुन् ।



‘प्रधानमन्त्रीज्यू, पुष्पकमल दाहाल प्रचण्डज्यू, कसले कसलाई फकाउने हो, कसले कसलाई तर्साउने हो, तपाईंहरू नै जान्नुहोस्,’ थापाले भनेका छन्, ‘तर याद राख्नुहोस्, प्रधानमन्त्री ओली असक्षम, अनैतिक र भ्रष्ट हुनु भएकोले सरकारको नेतृत्व गर्न अयोग्य हुनु भएको नेकपा अध्यक्षको ठहर अब सार्वजनिक सरोकारको विषय भइसक्यो । जुन तपाईंहरूको मन पखालिएर पखालिँदैन ।’

प्रधानमन्त्री ओली राष्ट्रियतासँग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिएको थापाको भनाइ छ । ओलीले विदेश मामिला र कूटनीतिमा नेपालको स्वतन्त्र नीतिसँग मेल नखाने व्यवहार देखाउँदै अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पुर्‍याएको थापाको आरोप छ ।

नेकपाभित्रको आन्तरिक शक्ति संघर्ष अब राष्ट्रिय सरोकारको विषय बनेको उनको भनाइ छ । ‘‘फकिने’ र ‘फकाउने’ ले यो नबिर्सिनुहोला कि अब सबै विषय नेकपाभित्रको आन्तरिक विषय रहेनन्, दुई ‘पाइलट’ को मनमुटाव मात्रको विषय रहेन । अब यो राष्ट्रिय सरोकारको विषय होस यो हाम्रो विषय हो,’ थापाले भनेका छन् ।

उनले यसबारे संसद र सदनमा आवाज उठाउने पनि उल्लेख गरेका छन् ।  ‘नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नु भएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनु भएको एकएक प्रकरणको हिसाब किताब अब संसद् र सडक दुबैबाट मागिने छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट