अफगानिस्तानबाट विदेशी सैनिक हटाए ठूलो नोक्सानी खेप्नु पर्ने नेटो प्रमुखको चेतावनी-Sutra News

अफगानिस्तानबाट विदेशी सैनिक हटाए ठूलो नोक्सानी खेप्नु पर्ने नेटो प्रमुखको चेतावनी

बिहिबार, ४ मंसिर २०७७

बिहिबार, ४ मंसिर २०७७

एजेन्सी– उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)का महासचिव जेन्स स्टोल्टेन्बर्गले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकलाई हतार हतार स्वदेश फर्काइए त्यसबाट अफगानिस्तानको सेनाले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सैनिक ठूलो मात्रामा कटौती गर्ने घोषणाप्रति टिप्पणी गर्दै महासचिव स्टोल्टेन्बर्गले यस्तो चेतावनी दिएका हुन् ।

अफगानिस्तान अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीको केन्द्रका रुपमा रहने सम्भावना रहेको बताउँदै उनले पश्चिमा मुलुकभित्र आक्रमणका योजना त्यहीबाट बन्न सक्ने चिन्ता व्यक्त गरे ।

महासचिव स्टोल्टेन्बर्गले सिरिया र इराकमा परास्त भएका आइसिसले अफगानिस्तानलाई आफ्नो केन्द्रका रुपमा उभ्याउन सक्ने खतरा रहेको बताए  ।

उनले एक वक्तव्य जारी गर्दै भने, ‘नेटो गठबन्धनले अफगानिस्तानको शान्ति प्रक्रियालाई मद्दत गरेको छ । यस प्रक्रियाको एक हिस्साका रुपमा हामीले ठूलै मात्रामा सैन्य उपस्थितिलाई अफगानिस्तानभित्र सीमित गरिसकेका छौं ।’

अफगानिस्तानमा तैनाथ विदेशी सैनिकको संख्या १२ हजारभन्दा कम भइसकेको छ । त्यसमध्ये आधाभन्दा बढी गैर–अमेरिकी सैनिक छन् ।

अफगानिस्तानबाट अमेरिकी सैनिकको संख्या निरन्तर कटौती गरिए पनि नेटोले अफगान सैनिकलाई तालिम, परामर्श र सहायताका कार्यलाई निरन्तरता दिने स्पष्ट गरिसकेको छ ।

गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट