काठमाडौं- बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको नेपाली राष्ट्रिय टिम आज (बिहीबार) स्वदेश फर्किएको छ । कात्तिक २८ र मंसिर २ गते ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको नेपाली टिम स्वदेश फर्किएको हो ।
पहिलो खेलमा २-० गोलले हारेको नेपालले बंगलादेशसँग दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको थियो । टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
नेपालले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो । यसअघि विश्वकप छनोटको दोस्रो चरणमा नेपालले भुटानमा नोभेम्बर १९ तारिखमा कुवेतसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपाल १-० गोलले पराजित भएको थियो ।
त्यसपछि कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेल सर्दै आएको थियो । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल पनि विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको तयारीकै लागि खेलेको हो ।
बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपालले करिब एक साताको तयारी थालेको थियो । कोरोना भाइरसको संक्रमण चार सिनियर खेलाडीमा देखिएपछि आठ नयाँ अनुहारलाई लिएर मुख्य प्रशिक्षक बालगोपाल महर्जन बंगलादेश प्रस्थान गरेका थिए । प्रशिक्षक महर्जनले पनि मुख्य प्रशिक्षक योहान कालिन अनुपस्थिति हुँदा नेपाली टिम सम्हालेका हुन् ।