हत्याका फरार अभियुक्त ८ वर्षपछि पक्राउ-Sutra News

हत्याका फरार अभियुक्त ८ वर्षपछि पक्राउ

बिहिबार, ४ मंसिर २०७७

बिहिबार, ४ मंसिर २०७७

जलेश्वर- कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक र नागरिकता मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् ।



आठ वर्ष अगाडि २२ वर्षीय किशोरलाई अपहरण गरेर कर्तव्य गरी मारेर फरार रहँदै आएका एकडारा गाउँपालिका-३ का जीवन अन्सारीलाई महोत्तरीको जलेश्वर नपा-३ भिठ्ठामोडबाट बुधबार प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका अन्सारीलाई सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक केसीका अनुसार पक्राउ परेका अन्सारीले चार/पाँच जनासँग मिलेर विसं २०६९ चैत ४ गते जिल्लाकै सोनमा गाउँपालिका-८ का श्याम राय यादवका छोरा कक्षा १२ मा अध्ययनरत २२ वर्षीय पङ्कज यादवलाई ललाइफकाई जलेश्वर घुमाउने भनी ल्याएर अपहरण गरी लागुऔषध सेवन गराई अर्धचेत भएपछि जलेश्वर नपा-१ स्थित राविम क्याम्पसको चौरमा निजको घाँटी रेटी हत्या गरेका थिए ।

पङ्कज धनुषाको जनकपुर नगरपालिकाको पिडाडीचोकमा डेरा गरी बस्दै आएका थिए । पक्राउ परेका अन्सारीले नै ल्याएको छुराबाट चार/पाँच जना मिलेर किशोर यादवको हत्या गरी उनले नै बोकी ल्याएको खुर्पा र कोदालोले घटनास्थल नजिकै रहेको रातुखोलाको बगरमा खाल्डो खनी शव गाडेका थिए ।

साथै मृतकका बुवा श्याम राय यादवलाई विसं २०६९ चैत १० गते सिरहा जिल्लाको लक्ष्मीपुरस्थित कमला नगरमा बोलाई रु सात लाख नेपाली फिरौतीसमेत लिएका थिए । महोत्तरी जिल्ला अदालतले निज अन्सारीको हकमा विसं २०७२ जेठ १८ गते अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र रु दुई लाख ७५ हजार जरिवाना तोकेको छ भने कर्तव्य ज्यान मुद्दा मुल्तवीमा छ ।

त्यस्तै उनले झुठा विवरण पेश गरेर विसं २०५१ मा नेपाली नागरिकता लिएकामा उनी उपर २०६२ मा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता मुद्दासमेत चलाइएको छ । विद्यार्थी यादवको अपहरण तथा हत्या मुद्दामा यसअघि दुई जना पक्राउ परिसकेको र उनीहरु कारागारमा कैदी जीवन बिताइरहेका छन् भने दुई/तीन जना अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट