काठमाडौं- तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो । दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए ।
राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द थियो । २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधारणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो ।
श्रीसदन प्रदर्शनीकक्षको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी सङ्ग्रहालयलाई राजतन्त्र र विशेषगरी आधुनिक नेपालको इतिहास बुझ्ने एउटा प्रमुख गन्तव्य थलोका रूपमा स्थापित गरिने बताए । ‘इतिहास कसैको दुश्मन हुँदैन, त्यो एउटा घटना हो । यथार्थ हो, त्यसलाई आजीवन संरक्षण गर्न सकियो भने आउने पुस्तालाई पनि ज्ञान हुनेछ’, उनले भने ।
आधुनिक नेपालको एकीकरणमा राजतन्त्रको प्रगतिशील भूमिका अविस्मरणीय रहेको जनाउँदै मन्त्री भट्टराईले पृथ्वीनारायणदेखि ज्ञानेन्द्र शाहसम्मको इतिहास नारायणहिटी क्षेत्रभित्र रहने उल्लेख गरे । उनले भने, ‘आधुनिक नेपाल निर्माणमा नेपालको शाहवंशीय राजतन्त्रले प्रगतिशील भूमिका खेल्यो । ब्रिटिश साम्राज्यवाद र उपनिवेशलाई रोक्न तथा नेपालका ससाना राज्यलाई एकीकरण गर्ने महान् कामको अगुवाइ गर्ने पृथ्वीनारायण शाहको भूमिकालाई निकै प्रगतिशील मानिन्छ र आज पनि उहाँको योगदानको सबैले स्मरण गर्ने गरेका छन् । आज श्रीसदन खोलिरहँदा पनि पृथ्वीनारायाण शाहको योगदानको उच्च कदर र सम्मान गर्न चाहन्छु, जुन देशका लागि गौरवपूर्ण ऐतिहासिक कार्य थियो ।’
श्रीसदन विभिन्न इतिहास र समाजको झलक तथा मानवजातिको विकासको जानकारी दिन सान्दर्भिक हुनेछ । दरबारसँग जोडिएका विभिन्न वस्तु, घटनाक्रम, देशका विभिन्न स्थानमा रहेका वस्तुलाई ल्याएर संरक्षण गरिनुपर्नेमा पर्यटनमन्त्रीको जोड थियो । उनले नेपालको २४० वर्षे शाहवंशीय राजतन्त्रको साक्षात इतिहासका रूपमा रहने सङ्ग्रहालयमा शाहवंशीय शासनको कसरी शुरु र अन्त्य भयो, त्यसको जीवन्त इतिहास नारायणहिटी सङ्ग्रहालयबाट प्राप्त हुने विश्वास व्यक्त गरे ।
पर्यटनमन्त्री भट्टराईले तत्कालीन राजा वीरेन्द्रको जीवनशैली र उनको परिवारलाई बुझ्न सहयोग पुग्नाका साथै नेपाली मात्र नभई विदेशी विश्वविद्यालयबाट अध्ययनअनुसन्धान गर्नेका लागि महत्वपूर्ण सामग्री प्रदान भएको बताए । उनले कीर्तिपुरको चम्पादेवीमा राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालय निर्माणको काम अघि बढाइएको र त्यहाँ नेपालका १२५ जातिका अलगअलग पहिचान र विविधता झल्कने सामग्री राखिने जानकारी दिए ।
त्यसैगरी नेपालको निर्माणमा राजनीतिक क्षेत्र, साहित्य र कलाकारिताका क्षेत्रबाट योगदान गरेका विशिष्ट व्यक्तिका सम्मानमा काठमाडौंको जहरसिंहपौवामा सङ्ग्रहालय बनाइने जानकारी दिँदै उनले काठमाडौं उपत्यकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा बिदाको दिन कर्मचारी र विद्यार्थीलाई घुमफिर गर्न यस्ता सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
श्रीसदनको भुइँतलामा पाहुना बस्ने बैठककक्षसँगै डाइडिङ रुम र वारकक्ष छ । दोस्रो तलामा वीरेन्द्र, ऐश्वर्य, निराजन र श्रुतिको शयनकक्ष छ भने तेस्रो तलाको पश्चिमतर्फ निराजनले शारीरिक अभ्यास गर्ने कोठा छ । ऐश्वर्यको पूजाकोठामा देवताको मूर्ति सजाइएको छ, तेस्रो तलाको भ¥याङ उक्लिनासाथ प्यासेजमा पूर्वअधिराजकुमारी श्रुतिले तयार पारेको चित्रकला राखिएको छ ।
स्व राजा वीरेन्द्र, ऐश्वर्य, श्रुति र निराजनको स्नानागार र सिँगार कोठामा सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सबै सामग्री सजाएर राखिएको छ । स्व ऐश्वर्यको छुट्टै साहित्यकक्ष पनि छ । श्रुति र निराजनको छुट्टै खेल्ने सामग्रीसहितको कोठा छन् ।