चितवन घटनाले नेकपामा तरंग, नेताहरू आरोप-प्रत्यारोपमा-Sutra News

चितवन घटनाले नेकपामा तरंग, नेताहरू आरोप-प्रत्यारोपमा

आइतबार, ७ मंसिर २०७७

आइतबार, ७ मंसिर २०७७

काठमाडौं- नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई चितवनमा कार्यकर्ताबाट भएको दुर्व्यवहारबारे प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको वक्तव्यप्रति प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले असन्तुष्टि जनाएका छन् ।



शनिबार राप्ति नगरपालिकामा नेकपाको कार्यक्रममा पाण्डे बोलिरहँदा कार्यकर्ताले ‘पार्टी एकता, जबज र प्रधानमन्त्री ओलीको समर्थनमा’ नारावाजी गरेका थिए ।

उक्त घटना सुनियोजित भएको भन्दै नेकपा नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति र ट्वीटमार्फत् विरोध गर्दै घटनाको छानविन गर्न माग गरेका थिए । प्रवक्ता श्रेष्ठले पाण्डेमाथि सुनियोजित दुर्व्यवहार भएको र उक्त घटना अति निन्दनीय र भर्त्सनायोग्य भनेका थिए ।

प्रवक्ता श्रेष्ठको सोही वक्तव्यपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ट्वीटमा पार्टी एकताको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देखेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

प्रवक्ता श्रेष्ठको वक्तव्य स्क्रिनसट गर्दै थापाले ट्वीट गरेका छन्, ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढ्नु भएको गाडीमाथि ढुंगा प्रहार गरिँदा निदाउनुभएको थियो क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नु भएछ । गज्जब छ, गुटगत अन्तरदृष्टि र छनोटपूर्ण वक्तव्यबाजी । दुवै स्थायी कमिटी सदस्य तब न नारायणकाजी ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट