पर्वत- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्रगतिमा अघि बढेको छ । गएको चैतको दोस्रो सातादेखि रोकिएको निर्माणकार्य असोजको दोस्रो सातादेखि सुरु भएको थियो ।
पर्वत खण्डको निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्शन कम्पनीले निर्माणलाई तीव्रता दिएको छ । गएको भदौ महिनामा निर्माणकार्यको म्याद सकिएको भए पनि निर्माण व्यवसायीहरुलाई कोभिडका कारण थप छ महिना स्वतः म्याद थपिएपछि निर्माण पनि तीव्रगतिमा अघि बढेको हो ।
पर्वत खण्डमा अहिलेसम्म ६० प्रतिशतभन्दा बढी काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । उनका अनुसार अहिले निर्माणको गति तीव्र छ । ‘यही अनुसार काम भएमा आगामी असारभित्र सबै काम सम्पन्न हुने देखिएको छ ।’
लकडाउनलगायतका कारणले छ महिनाभन्दा बढी रोकिएको काम तीव्ररूपमा अघि बढेको निर्माण कम्पनी लामा कन्स्ट्रक्शनका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले जानकारी दिए । उनका अनुसार केही भागमा कालोपत्रसमेत भइसकेको छ ।
निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारबाट मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिका लागि कम्पनीले रु ८३ करोड ९८ लाखमा ठेक्का लिएको हो ।
पर्वत खण्डको २३ किलोमिटरमध्ये स्ट्रक्चरको काम ९५ प्रतिशत सकिएको छ । बागलुङको सिमाना मालढुङ्गाबाट नयाँपुलसम्म करिब पाँच किलोमिटर कालोपत्र भइसके पनि वर्षायाममा ठाउँ-ठाउँमा पहिरो गएकाले पुनः कालोपत्र गर्नुपर्ने अवस्था भएको छ ।
अहिले बाँकी रहेको स्ट्रक्चरको काम र बेस राखेको ठाउँमा वर्षाका कारण बिग्रेको खण्डलाई तयारी गराउने काम सुरु भएको कम्पनीले जनाएको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मरासिनीले काम सुरु गरेको व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधनसमेत परिचालित भएकाले असारसम्ममा नै काम सकिने विश्वास व्यक्त गरे ।
यसैबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेल, प्रधानमन्त्रीका विकास तथा पूर्वाधारविज्ञ सल्लाहकार गजेन्द्र थपलिया, राष्ट्रिय योजना आयोगका सहसचिवद्वय डा.वासुदेव शर्मा र किशोर जोशीलगायतको टोलीले निर्माणाधीन मध्यपहाडी लोकमार्गको कास्की, पर्वत र बागलुङ खण्डको अनुगमन तथा निरीक्षण गरेर फर्किएको छ ।
टोलीले पनि निर्माणको गति देखेर सन्तोष व्यक्त गरेको कार्यालय प्रमुख मरासिनीले जानकारी दिए । निर्माणका क्रममा स्थानीयस्तरमा उत्पन्न समस्या र समाधानको उपायबारे अध्ययन गर्न र हालसम्मको कामको प्रगति विवरण बुझ्न टोली आएको बताइएको छ ।