भक्तपुर- कोरोना संक्रमणका कारण भक्तपुरमा मृत्यु हुनेको संख्या एक सयनजिक पुगेको छ । जिल्लामा आइतबारसम्म ३४ महिलासहित ९८ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार भक्तपुर नगरपालिकामा सबैभन्दा बढी मृत्यु भएको छ । यहाँ २६ पुरुष र १५ महिला गरी ४१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । त्यसैगरी मध्यपुर थिमि नगरपालिकामा २३ पुरुष र १० महिलागरी कुल ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिकामा ११ पुरुष र ८ महिलागरी १९ र चाँगुनारायण नगरपालिकामा ४ पुरुष र एक महिला गरी ५ जनाको मृत्यु भएको मिजारले बताए ।
यसैगरी भक्तपुरमा कोरोना संक्रमणबाट मुक्त हुने ८३ प्रतिशत पुगेको छ । जिल्लामा आइतवारसम्म ४ हजार ३२० पुरुष र ३ हजार २८७ महिला गरी ७ हजार ६०७ जनालाई कोरोना संक्रमण भइसकेको छ । त्यसमध्ये ३ हजार ५५७ पुरुष र २ हजार ७५५ महिलासहित ६ हजार ३१२ जना संक्रमण मुक्त भएका छन। जुन ८२ दशमलव ९८ प्रतिशत हो ।
भक्तपुरमा हाल ६९९ पुरुष र ४९८ महिलासहित १ हजार १९७ सक्रिय संक्रमित छन । ती मध्ये ५९ पुरुष र ३७ महिलासहित जम्मा ९६ जना अस्पताल वा संस्थागत आइसोलेसनमा उपचाररत छन भने ६४० पुरुष र ४६१ महिला होम आइसोलेसनमा छन् ।