संघ र प्रदेशसँग सन्तुष्ट छैनन्, स्थानीय तह-Sutra News

संघ र प्रदेशसँग सन्तुष्ट छैनन्, स्थानीय तह

सोमबार, ८ मंसिर २०७७

सोमबार, ८ मंसिर २०७७

भजनी- स्थानीय सरकारसँग प्रदेश र संघीय सरकारका बीचमा समन्वय प्रभावकारी नभएको गुनासो आउने थालेको छ । विकास निर्माण एवम् अन्य विषयमा प्रदेश सरकारको भूमिका फितलो भएको स्थानीय निकायका प्रमुखले गुनासो गरेका छन् ।



टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले प्रदेशको भन्दा सङ्घीय सरकारको समन्वय र सहकार्य राम्रो रहेको जानकारी दिए । ‘प्रदेश सरकारका आफ्नै स्थानीय तहमा भइरहेका विकास आयोजनाकै बारेमा जानकारी हुँदैन । समन्वय नहुँदा कुनै आयोजनामा दोहोरो बजेटसमेत पर्ने गरेको छ’, नगर प्रमुख रावलले भने, ‘संघीय सरकारका कार्यक्रमको नगरपालिकामा जानकारी हुन्छ । विकास आयोजनामा पनि दुई सरकारको समन्वय र सहकार्य देखिने गरेको छ । प्रदेश सरकार कहाँ, कुन योजना बनाउँछ ? यसका बारेमा नगरपालिकालाई जानकारी हुँदैन । आयोजना पनि कहिले कसले शुरु गर्छ कहिले कसले सम्पन्न गर्छ खै ?’

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले विकास निर्माणका सन्दर्भमा प्रदेश सरकारको समन्वय भइरहेको जानकारी दिए । विगतमा आफैं योजना बनाउने, आफैँ काम गर्ने त्यसको जानकारी गाउँपालिकालाई नभए पनि चालू आर्थिक वर्षमा विकास आयोजनामा प्रदेशले गाउँपालिकासँग समन्वय गरेको उनले बताए ।

‘संघीय सरकारबाट ठूला र सीमित आयोजना हुने भएकाले पनि हुनसक्छ प्रदेशभन्दा बढी सम्पर्क र समन्वय त संघसँग हुने गरेको छ’, उनले भने, ‘सुरुमा प्रदेश सरकारको भूमिका गौण थियो र हाम्रो अपेक्षा पनि प्रदेश सरकारसँग नभई सङ्घीय सरकारसँगै हुन्थ्यो । अहिले नजिकको सरकार पनि हाम्रा लागि प्रदेशकै हो ।’

लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईंले स्थानीय तहसँग प्रदेश सरकारको भूमिका नै नदेखिएको बताए । ‘समपूरक र अनुदानमा हुने विकास कार्यक्रममा प्रदेशसँग समन्वय भएको देखिन्छ । निर्वाचित सांसदको कार्यक्रमसमेत नगरपालिकालाई थाहा हुँदैन र उहाँहरु हामीसँग कुनै पनि समन्वय गर्नु हुँदैन’, उनले भने, ‘प्रदेशको हाम्रो क्षेत्रमा कुनै योजना पनि छैन । संघीय सरकारका यस क्षेत्रका सांसदको भूमिका र समन्वय राम्रो छ ।’

जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले संघ र प्रदेशको समन्वय राम्रो नभएको गुनासो गरे । ‘जति गरेका छौँ, आफ्नै बलबुताले गरेका छौँ । सामान्य केही परिपत्रका लागि नीति नियममा संघीय सरकारसँग समन्वय हुन्छ’, उनले भने, ‘प्रदेश सरकारसँग त्यो पनि हुन सकेको छैन । हाम्रै क्षेत्रबाट निर्वाचित सांसदको काम र कर्तव्यसमेत गाउँपालिकालाई थाह हुँदैन ।’

गोदावरी नगरपालिकाका नगर प्रमुख भीमबहादुर देउवाले स्थानीय सरकारपछिको नजिकको सरकार प्रदेश सरकार भएको बताए । ‘प्रदेश र संघलाई तुलना गर्दा संघसँग बढी समन्वय र सहकार्य हुन्छ । यसक्षेत्रबाट निर्वाचित सांसदले पनि समन्वय गर्दै आएका छन्’, उनले भने, ‘प्रदेश सरकारका सांसदलाई खोज्नुपर्ने अवस्था छ । प्रदेशका योजना, बजेट कहाँ खर्च हुन्छ ? कसले खर्च गर्छ ? त्योसमेत नगरपालिकालाई थाह हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट