काठमाडौं- प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा लगाएको छ ।
प्रहरीले चलाएको गोली लागेर घाइते भएका बर्दिबास नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय सञ्जय भन्ने बुद्धिराम न्यौपानेको गए राति मृत्यु भएको थियो ।
मंगलबार गोली लागेका न्यौपानेलाई हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याएर उपचार गरिएकोमा गए राति उनको मृत्यु भएको हो ।
न्यौपानेको मृत्युपछि बुधबार बिहानदेखि नै बर्दिबासमा प्रदर्शन भइरहेका छन् । थप प्रदर्शन हुन नदिन भन्दै प्रशासनले आज बिहान ९ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा लागू गरेको छ ।