एजेन्सी- जर्मन क्लब बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।शत प्रतिशत जितको नतिजा कायम राख्दै बायर्न नकआउट चरणमा प्रवेश गरेको छ ।
प्रतियोगितामा लगातार १५औँ जित निकालेको बायर्नले बुधबार आरबी साल्ज्बर्गमाथि ३-१ को जित निकाल्यो । घरेलु मैदानमा बायर्नले रोबर्ट लेवान्डोस्कीको गोलमा अग्रता लिएको थियो । ४३औँ मिनेटमा थोमस मुलरको प्रहार गोलरक्षकले बचाए पनि रिबाउन्डमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएका थिए ।
५२औँ मिनेटमा नै बायर्नले अग्रता दोब्बर पार्यो । किंग्सले कोमानको प्रहार म्याक्सिमिल्यन वेबरलाई लाग्दै गोलमा परिणत भयो । ६६ औँ मिनेटमा मार्क रोकाले दोस्रो पहेंलो कार्ड पाएपछि १० खेलाडीमा समेटिए पनि बायर्नको खेल खस्किएन ।
६८औँ मिनेटमा कोमानको पासमा लेरोय सानेले हेडरमार्फत गोल गर्दै बायर्नको अग्रता बढाए । ७३औँ मिनेटमा साल्ज्बर्गका मेर्गिम बेरिशाले सान्तवना गोल गरे । अपराजित बायर्न ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा रहेको छ ।