काठमाडौं- त्रिशुलीमा खसेको पिकअप भ्यानबाट दुई जनाको शव निकालिएको छ । प्युठानको झिम्रुक गाउँपालिका-१ का २३ वर्षीय सूर्य केसी र एक महिलाको शव निकालिएको शशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका एसपी मुरारी बस्नेतले जानकारी दिए ।
गोताखोर टोली परिचालन गरी शव निकालिएको हो । प्युठानबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको भ्यान चितवनको इच्छाकामना गाउँपालिकास्थित पृथ्वी राजमार्गको नाग्दी खोला नजिकैबाट त्रिशूली नदीमा खसेको थियो ।