नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन आएको हुँ : विदेशसचिव हर्षवर्द्धन-Sutra News

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन आएको हुँ : विदेशसचिव हर्षवर्द्धन

बिहिबार, ११ मंसिर २०७७

बिहिबार, ११ मंसिर २०७७

काठमाडौं- भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी आज केहीबरेअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो ।



परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । पौडेललले भारतीय समकक्षी श्रृंगलालाई विमानस्थलमा स्वागत गरेका छन् । कार्यभार सम्हालेको एक ११ महिनापछि श्रृंगला नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका हुन् । नेपाल–भारतबीच कूटनीतिक तहमा संवाद सुचारु गर्न उनी विशेष विमानबाट आइपुगेका हुन् ।

गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेपछि विदेशसचिव श्रृंगला आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीमा पत्रकारहरूसँग कुरा गर्दै उनले पहिल्यै नेपाल आउन चाहेको बताए । उनले विदेशसचिवका रूपमा मात्र पहिलो भ्रमण रहेको, तर पहिले नै काठमाडौं आएको पनि बताए ।

श्रृंगलाले नेपाल–भारत सम्बन्ध बलियो रहेको भन्दै थप सुदृढ गर्न आफू नेपाल आएको पनि बताए । उनले नेपाल र भारत निकटतम् मित्र रहेको बताए । एक वर्षपछि दुई देशबीचको संवाद सुरक्षा र खुफिया एजेन्सीको तहबाट सुरुआत भएकोमा अब औपचारिक कूटनीतिक च्यानलबाट सम्बन्ध अघि बढ्न खोजेको छ । भारतीय विदेशसचिवको यो परिचयात्मक भ्रमण हो ।

विदेशसचिव भएलगत्तै छिमेकी देशहरूको भ्रमणमा जाने परम्परा रहेकोमा दुई देशबीचको नक्सा विवाद एवं कोभिड– १९ महामारीका कारण विदेशसचिवको भ्रमण तय हुन झण्डै एक वर्ष लागेको हो ।

गत वर्ष भारतले कालापानी समेटेर पहिलोपटक नयाँ नक्सा जारी गरेपछि नेपालले कूटनीतिक रूपमा विरोधपत्र पठाएर वार्ताका लागि प्रस्ताव गरेको थियो । त्यसयता नेपालले निरन्तर वार्ताका लागि आग्रह गर्दै आए पनि भारतीय विदेशसचिवको भ्रमण हुन सकेको थिएन । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले गत सोमबार एकै समयमा विज्ञप्तिमार्फत विदेशसचिव श्रृंगलाको नेपाल भ्रमण मिति सार्वजनिक गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशसचिव श्रृंगलाले शुुरुमा नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौडेलसँग औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्दै छन् । वार्तामा परराष्ट्रसचिव पौडेल, परराष्ट्रको दक्षिण एशिया महाशाखा प्रमुख सहसचिव यज्ञबहादुर हमालसहितका अधिकारी हुनेछन् ।

विदेशसचिव शृंगलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल र भूटान मामिला हेर्ने सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, भारतीय दूतावासका अधिकारीहरू हुनेछन् । श्रृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गर्ने कार्यक्रम छ ।

उनले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी भोलि गोरखा र मनाङ भ्रमण गरेर दिल्ली फर्किने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट