काठमाडौं- पछिल्लो एक महिनादेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ । सुनको मूल्य ओरालो लाग्नेक्रम शुक्रबार पनि जारी छ । अघिल्लो कारबार दिनको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आजकालागि सुनको छापावल प्रतितोला भाउ ९१ हजार तीन सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको भाउ भने ९० हजार ८ सय रुपैयाँ छ । बिहीबार प्रतितोला छापावाल र तेजाबी सुनको भाउ क्रमशः ९१ हजार पाँच सय र ९१ हजार रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । बिहीबार ११ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको प्रतितोला मूल्य शुक्रबारकालागि ११ सय ६५ रुपैयाँ तोकिएको छ ।
कोभिड खोपको प्रभावकारिता बढेका समाचारहरुसँगै अन्तर्राष्ट्रिय बजारमा बढेको आत्मबलले सुनको मूल्य पछिल्लो एक महिनादेखि ओरालो लागेको नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले बताएका छन् ।
उनका अनुसार सुनको अन्तर्राष्ट्रिय मूल्य मापन गर्ने सुनको मूल्यअनुसार पछिल्लो ३० दिनमा सुनको अन्तराष्ट्रिय मूल्य प्रतिऔंश ५६.९० डलरले घटेको छ ।
यतिखेर बिहेको सिजन भएका कारण सुन पसलमा ग्राहकहरू आउन थालेको बताउँदै सुनको मूल्य घटेर तोलाको ८० हजार रुपैयाँसम्म आइपुग्ने अध्यक्ष लकान्द्रीको भनाइ छ ।