संसद् अधिवेशन छिट्टै आह्वान हुने-Sutra News

संसद् अधिवेशन छिट्टै आह्वान हुने

शुक्रबार, १२ मंसिर २०७७

शुक्रबार, १२ मंसिर २०७७

काठमाडौं- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताए । सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तक्रिया कार्यक्रमको उद्घाटनमा उनले विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल हुने धारणा व्यक्त गरे ।



संविधानले आवश्यक मौलिक हकको व्यवस्था गरेको र लोकतन्त्रका सबै मूल्यमान्यता समेटेको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको कार्यान्वयनबाट जनताका अपेक्षा पूरा गर्न सकिने बताए । अर्को फरक प्रसङ्गमा उनले राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यकता रहेको औँल्याए ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घले कानून नबनाएर प्रदेश र स्थानीय तहले काम गर्न सकेन भन्ने अवस्था नआओस् भनेर सङ्घीय संसद् तयार रहेको बताउँदै त्यसका लागि सरकारलाई पनि आग्रह गरे । उनले संविधानका मौलिक हक र समाजवादोन्मुख राजनीतिक लक्ष्य निरन्तर कार्यान्वयन गर्न सङ्घ, प्रदेश र स्थानीय तह सबैको भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले नियमित अधिवेशनमा प्रवेश गर्ने बेला भइसकेकाले छिट्टै संसद्को नियमित अधिवेशन आह्वान हुने बताउँदै त्यसका लागि पूर्वतयारी गर्न आग्रह गरे ।

संविधानले व्यवस्था गरेको लैङ्गिक समानताको प्रावधान व्यावहारिक कार्यान्वयन भएका बारेमा छलफल हुनुपर्ने बताउँदै उनले कानून निर्माणमा सभामुख र उपभासभामुखको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संविधानअनुसार हालसम्म कति कानून निर्माण भए भन्नेबारेमा समीक्षा गर्नुपर्ने बताउँदै भ्रष्टाचार निवारणका लागि संसद् र प्रदेशसभाले पनि आआफ्ना स्थानबाट पहल गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।

सचिवालयका महासचिव डा.भरतराज गौतमले सङ्घीय संसद् र प्रदेशसभाबीच हुने अनुभव आदानप्रदानले संसद् सञ्चालन र व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा सङ्घीय संसद्का सभामुख, अध्यक्ष र उपाध्यक्षका साथै प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेल, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङ, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारु, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही र उपसभामुख पुष्पा घर्ती, सूदुरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा र उपसभामुख निर्मला जोशी तथा सङ्घीय संसद् सचिवालयका उच्च अधिकारी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट